- अमर काफ्ले

इनरुवा/ सुनसरी सदरमुकाम इनरुवामा डेंगु संक्रमित बिरामीको संख्या ह्वात्तै बढेको छ । केहिसाता अघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइरहँदा पछिल्लो पटक इनरुवामा एकसाथ ११ जना डेंगु संक्रमित बिरामी फेला परेका छन् । इनरुवा नगरपालिकाको कार्यालयले नगर भित्र ११ जनामा डेंगुको संक्रमण पाइएको पुष्टि गरेको छ ।

इनरुवा अस्पतालको आकस्मिक कक्षले भने डेंगु संक्रिमत संख्या बढ्दो क्रममा रहेको जनाएको छ । आकस्मिक कक्षमा कार्यरत सिनियर अहेव गुणानन्द झाका अनुसार नमूना परिक्षणका क्रममा २० जना भन्दा बढीमा डेंगुको संक्रमण फेला परिसकेको छ ।स्थानीयका अनुसार इनरुवा भित्रका अन्य डेंगु संक्रमित बिरामी धरान र नोबेलमा परिक्षण पश्चात उपचारको क्रममा छन् । इनरुवाको वडा नम्वर ४ को एकै परिवारका ७ जनामा डेंगुको संक्रमण भेटिएकोे अस्पतालले जनाएको छ ।

नगरभित्र एकसाथ डेंगुका बिरामी फेला परेपछि इनरुवा नगरपालिकाको कार्यालयले आपतकालित बैठक समेत डाकेको छ ।कार्यपालिकाको बैठकले डिल्ली निरौलाको संयोजकत्वमा डेंगु नियन्त्रण तथा प्रचारप्रसार समिति समेत गठन गरेको छ ।इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी अलर्टमा रहने गरी हेल्प डेस्क राख्ने तयारी समेत थालिएको इनरुवा नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरपालिकाले नगरका वडाहरुमा विषादी छर्किने काम पूनः सुरु गरिएको छ । नगर प्रमुख राजन मेहताले वडातह सम्म जनचेतना फैलाउनकालागि अभियान थालिसकिएको बताउनु भयो । उता इनरुवा अस्पतालका स्वास्थ्यकर्मीहरुले ज्वरो आउँदा पारासिटामोल बाहेक अन्य औषधी सेवन नगर्न सुझाव दिएका छन् । ज्वरो आउने, शरिर काम्ने, टाउको दुख्ने र बिमिरा आउने जस्ता लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन सुनसरी जिल्ला अस्पताल इनरुवाले सर्वसाधारणमा सूचित गराएको छ ।

तपाईको प्रतिक्रिया