- अमर काफ्ले

इनरुवाका तीन युवाले थालेको सामूहिक व्यवसाय यतिबेला क्रमशः फस्टाउँदो क्रममा छ। ६ बिगाह १ कट्ठा जग्गा भाडामा लिएर थालिएको माछा पालन व्यवसायबाट आम्दानी आउन थालेपछि युवा समूह आफ्नो व्यवसायलाई थप सुदृढ र समयानुकुल बनाउने तर्फ लागि परेको छ । गडन खोला किनारमा रहेको इँटा भट्टा छेउको ६ बिगाह बढी जग्गामा १३ वटा पोखरी खनि थालिएको माछा पालन व्यवसायबाट आम्दानी सुरु भएसँगै पोखरीको डिलमा मेवा खेती समेत सुरु गरिएको छ ।

व्यवसाय थालेको चार महिनाको अवधिमा पहिलो लटको माछा बिक्रि गरेको इनरुवा कृषि फर्मले १५ लाख बराबरको कारोबार गरेको छ । दोस्रो लटका माछा लगाउने तयारी थालिएको बताउने संचालक मध्येका रमेश कटवालले पहिलो सिजन भएकाले लगानीको सबै रकम नउठेपनि प्राप्त आम्दानीले व्यवसाय निरन्तरतामा हौसला थपेको बताए । उन्नत र परम्परागत जातका सबै माछा उत्पादन गर्दै आएको इनरुवा कृषि फर्ममा माछा किन्नकालागि व्यापारीहरु स्वयं पोखरी पुग्ने गरेका छन् । पोखरीबाटै माछा बिक्रि हुने भएकाले समेत कुनै समस्या नरहेको कटवालको भनाई छ ।

माछा पालनकालागि पोखरी निर्माण सहित भुरा हाल्न र आवश्यक अन्य बन्दोवस्तीमा ४५ लाख खर्च भएको बताउने भरत मेहता माछा पालनसँगै मेवा खेती समेत सुरु गरिएको बताउँछन् । पोखरीको डिलमा लगाइएका मेवाका बोट हुर्किएर फल लाग्न थालेकाले त्यसबाट समेत केहि समय भित्रै आम्दानी हात लाग्ने उनको भनाई छ । स्वस्थ र सप्रिएका ताजा माछा पाइने भएकाले समेत माग बढ्दो क्रममा रहेको मेहताले बताए ।

राम पौडेल समेतको लगानी रहेको व्यवसायबाट हौसिएका युवाहरु आफ्नो व्यवसाय बढाउन लागिपरेका छन् । दशैंको आसपासबाट पोखरीको छेउमा माछा हाउस सहितको फिस चिल्लि रेष्टुरेन्ट संचालनमा ल्याउन लागिएको कटवालले जानकारी दिए ।

इनरुवालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप थालिएको व्यवसाय प्रति बढ्दो विश्वास र मागका साथै आर्कषणलाई लक्षित गर्दै पोखरीमा जिउँदो माछा आफैं मारेर किन्न सकिने व्यवस्था समेत मिलाउन लागिएको संचालक कटवालले बताए । फिसिङको माग बढेकाले पोखरीमा बाँसको पुल बनाउने देखि रेष्टुरेन्ट संचालनमा ल्याउने तयारी थाल्न लागिएको उनले बताए । कटवालले भने, “स्वदेशमै स्वरोजगार बन्ने प्रशस्त पाटाहरु छन् । केवल इक्षाशक्ति र काम प्रतिको लगाव र निरन्तरताको खाँचो छ । विदेशमा पसिना बगाउनु भन्दा आफ्नै ठाउँमा परिश्रम गर्न सके आत्मसन्तुष्टिसँगै मनग्यै आम्दानी हात लाग्न सक्छ।”

तपाईको प्रतिक्रिया