- अमर काफ्ले

इनरुवा। दशगजा क्षेत्रमा कुनैपनि संरचना निर्माण गर्न नपाइने अन्तराष्ट्रिय नियम मिचेर भारतले सुनसरीसँग सीमा जोडिएको भाण्टावारीमा प्रवेश द्वार निर्माण गरेको छ । भाण्टाबारीको तिनकुने भन्ने स्थानमा भिमनगर जाने सडकलाई लक्षित गरी भारतीय पक्षले प्रवेश द्वार निर्माण गरि संचालनमा ल्याएको छ । भारतले सीमा स्तम्भ रहेको मैत्रिपोखरीको सामुन्नेमै प्रवेश द्वार बनाएको छ ।

सीमा सम्वन्धि अन्तराष्ट्रिय नियम अनुसार सीमा स्तम्भ रहेको स्थानबाट दुवै देश तर्फको दश मिटर क्षेत्रमा बसोबास र भौतिक पूर्वाधार निर्माणको कार्य गर्न पाइदैन् । चाहे त्यो स्थायी होस वा अस्थाई संरचना नै किन नहोस । तर भारतीय पक्षले भने सशस्त्र सीमा सुरक्षा बलको यूनिट सामुन्नेमै प्रवेश द्वार बनाएर संचालनमा ल्याएको छ । पक्की कंक्रिट संरचना तयार गरि बनाईएको स्वागत द्वारमा निलो र रातो रङ भित्र सेतो अक्षरले हिन्दी र अंग्रेजीमा ‘भारतमे आपका स्वागत है’ भन्ने शब्दलाई ठूलो अक्षरमा लेखिएको छ । त्यसको तल्लो भागमा भारतीय सीमा शुल्क स्थल भिमनगर लेखिएको छ । अन्तराष्ट्रिय नियम र दुई देशबीचको सहमति विपरित भारत सरकारका तर्फबाट दशगजा क्षेत्रमा सो संरचना निर्माण गरिएको सीमा जानकारहरु बताउँछन् । स्थानीयहरु समेत भारतीय पक्षले बनाएको प्रवेश द्वार दशगजा मिचेर बनाइएको दाबी गर्छन् ।

संरचना निर्माणताका भारतीय पक्षले आफुहरुलाई जानकारी नदिएको र कुनैपनि समन्वय नगरेको बताउने सशस्त्र प्रहरीले सो विषयमा तत्कालिन अवस्थामै माथिल्लो निकायमा जानकारी गराइएको बताएको छ ।यद्यपी भाण्टावारीमा रहेको सशस्त्र सीमा सुरक्षा बलले भारतीय पक्षले निर्माण गरेको प्रवेश द्वार दशगजा भन्दा बाहिरको क्षेत्रमा रहेको जनाएको छ । सीमा सर्वेका क्रममा खटिएको टोलीले समेत उक्त संरचना दशगजा बाहिर पर्ने बताएको सशस्त्रको भनाई छ ।

तपाईको प्रतिक्रिया