इनरुवा। कृषि तथा पशुपन्छी विकास राज्यमंत्री रामकुमारी चौधरीले कृषि क्रान्ति बिना मुलुकको समृद्धि सम्भव नहुने बताउनु भएको छ । कृषि प्रधान देश भएरपनि उपभोग्य वस्तुमा परनिर्भर रहनु पर्ने बाध्यता अन्त्य हुन नसकेको वहाँको भनाई छ ।
जिल्ला समन्वय समिति सुनसरीले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमंत्री चौधरीले कृषिमा यान्त्रिकीकरण सहितको आधुनिक खेती आवश्यक रहेको बताउनु भएको हो। कृषि क्षेत्र धान्ने जमात अधिकांश गरिव र विपन्न वर्ग भएकाले समानता सहितको कृषि क्रान्ति बेगरको समृद्धि मुलुकले हात पार्न नसक्ने चौधरीको भनाई थियो ।
जिसस सुनसरी प्रमुख गोपाल राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य सीताराम मेहता सहित प्रदेश नम्वर एकका सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला र प्रदेश सभा सदस्यका साथै प्रमुख जिल्ला अधिकारी सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सुनसरीका स्थानीय तहका प्रमुख, उपप्रमुख लगायत प्रशासकीय अधिकृतको समेत सहभागिता रहेको थियो । समस्या र चुनौतिहरु माथिल्लो निकायमा जानकारी गराउनुकासाथै आगामी योजनाको स्पष्टताकालागि समन्वयकारी भूमिका निभाउन कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपाल राजभण्डारीले जानकारी दिनुभयो ।