- दिलिप कुमार साह

राजविराज। सप्तरी जिल्ला कारागारमा उच्च अदालत जनकपुर राजविराज इजलासले मंगलवारदेखि दुई दिने न्यायिक शिविर संचालन गरेको छ । कैदीवन्दिका न्यायिक समस्या तथा गुनासो संकलन गरी समस्या समाधानको प्रयास गर्ने उद्देश्यले शिविर संचालन गरिएको हो । शिविरमा कारागारका बन्दीले अदालत प्रति गुनासो गरेका छन् । विभिन्न मुद्दामा पक्राउ परि पुर्पक्षका लागि सप्तरी जिल्ला कारागार चलान भएका बन्दीहरुले अदालतको ढिलासुस्तिले दुःख पाएको गुनासो गरे ।

मुद्दा फैसला सुस्त हुँदा अनाहकमा वर्षौसम्म कारागारमा वस्नु परेको मोरङ्गको रङ्गेली २ का ३५ वर्षिय शिवनारायण तुलाको गुनासो छ । २३ असोज ०७४ मा सवारी ज्यान मुद्दामा पक्राउ परेका तुलाको मुद्दा करिव २ वर्षदेखि सप्तरी जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । ‘न्यायिक निकायकै ढिलासुस्तिले अन्यायमा परियो’– उनले भने । यसैगरी, सप्तरीको कञ्चनरुप नगरपालिका ६, रुपनगरका ६५ वर्षिय जिलेवी सदरदारले समयमा अदालतले मुद्दा फैसला नगर्दा करिव १ वर्षदेखि कारागारमा वन्दि वस्नु परेको गुनासो गरे । उनी विरुद्ध सप्तरी जिल्ला अदालत राजविराजमा वन पैदावार चोरीतस्करीको मुद्दा चलिरहेको छ ।

आफुहरुजस्ता करिव डेढ सय वन्दिको अवस्था उस्तै रहेको उनीहरुको भनाई छ । समयमा मुद्दा फैसला नभई भुक्तान गर्नुपर्ने सजाय निक्र्यौल नहुदा दुःख पाएको र पुनरावेदन गर्न पनि नपाएको वन्दिहरुले गुनासो छ । कारागारका निमित्त कार्यालय प्रमुख सत्यानारायण यादवका अनुसार हाल सप्तरी जिल्ला कारागारमा महिला ६ र पुरुष १५० गरी कुल १५६ जना वन्दि छन् । १ सय २५ जना कैदिवन्दिको क्षमता रहेको कारागारमा १६ महिला सहित ३ सय ३८ जनालाई राखिएको निमित्त कारगार प्रमुख सत्यानारायण यादवले वताए । सप्तरी जिल्ला अदालतका तहसिलदार हरी पराजुली तथा उच्च अदालत जनकपुर राजविराज ईजलासका सहायक सुचना अधिकारी विश्वराज पोखरेलले सरकारवादी फौजदारी मुद्दाको प्रकृया जटिल भएको र आवश्यक्ता अनुसार जनशक्ति पनि नभएकाले मुद्दा फैसला ढिलो हुने गरेको वताए । ‘प्रकया जटिल छन्, जनशक्ति न्युन छ’ सहायक सुचना अधिकारी पोखरेलले भने–‘उपलब्ध जनशक्तिले काम गर्दा ढिलासुस्ती भएको छ, सुधार गर्दै लान प्रयासरत छौं ।’ जिल्ला अदालतका तहसिलदार हरी पराजुलीले सप्तरी जिल्ला मुलुकमै सवैभन्दा वढि मुद्दा पर्ने मध्ये पर्ने भएकाले उपलब्ध जनशक्तिका आधारमा चाँडो फैसाल गर्ने प्रयास जारी रहेको वताए ।

तपाईको प्रतिक्रिया