प्रदेश नम्वर १ का सामाजिक बिकास मंत्री जीवन घिमिरेले इनरुवा नगरपालिका वडा नम्वर ६ मा बन्दै गरेको क्षेत्रीय कबर्ड हलको निरिक्षण गर्नु भएको छ । ५ करोड ७९ लाख ४२ हजार लागत अनुमान गरिएको कबर्ड हलमा भैरहेको निर्माण कार्य लगायतको बारेमा मंत्री घिमिरले जानकारी लिनु भएको हो । जनता माबिले उपलब्ध गराएको १७ कट्ठा १० धुर जग्गामा मधेशा कबर्ड हल निर्माण उपभोक्ता समितिले निर्माण कार्य गर्दै आएको छ ।

निर्माणाधिन कबर्ड हल इन्डोरका सबै खेल खेलाउन मिल्ने गरी अन्र्तराष्ट्रिय मापदण्ड अनुरुपको बनाउन लागिएको र सोही बिषयमा मंत्री घिमिरे समक्ष जानकारी गराइएको निर्माण समितिका अध्यक्ष झलकराज खड्काले बताउनु भयो । कबर्ड हलकालागि अघिल्लो आर्थिक वर्षमा ५० लाख रकम उपलब्ध गराएको सामाजिक बिकास मन्त्रालयले यस पटक ६० लाख रकम छुट्याएको मंत्री घिमिरेले बताउनु भयो । निरिक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री घिमिरेले प्रदेश सरकार नमूनामैत्री अभियानमा जुटेकाले एकपछि अकों महत्वकांक्षी र दूरगामी योजनाहरु संचालनका क्रममा रहेको जानकारी गराउनु भयो । मंत्री घिमिरले प्रदेशको समृद्धिकालागि सबै तहको साथ र सहयोग आवश्यक पर्ने भएकाले जनस्तरबाट समेत आवश्यक साथ र सहयोगको खाँचो रहेको औल्याउनु भएको छ । घिमिरेले कबर्ड हलका अलावा मधेशा खानेपानी आयोजना र बबियामा रहेको कब्रस्थान निर्माण स्थलको समेत निरिक्षण गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया