सुनसरीको इनरुवामा दोस्रो रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । फुलबारी क्रिकेट क्लबले अशोजको ४ गतेबाट मेयर कप रात्रिकालीन टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर प्रमुख राजन मेहताले पत्रकार सम्मेलनकाबीच खेलको जर्सी समेत सार्वजनिक गरेका छन् ।प्रतियोगितालाई आधुनिक शैलीमा रुपान्तरण गरी संचालनमा ल्याउन लागिएको आयोजक संस्थाका अध्यक्ष शिबु यादवले बताए ।

पहिलो संस्करणको प्रतियोगिताले क्रिकेटको क्षेत्रबाट नगरलाई चिनाउन महत्वपूर्ण भूमिका दिलाएकाले दोस्रो संस्करणलाई थप परिस्कृत बनाउन लागिएको आयोजक संस्थाका अध्यक्ष यादबले जानकारी दिए ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अशोज १८ गते सम्म चल्ने प्रतियोगितामा तीन बिभागीय सहित १६ वटा टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा साविक बिजेता नेपाल पुलिस सहित नेपाल आर्मी, एपीएफ, बिराटनगर, बेलबारी, सप्तरी, धनगढी, झापा, वीपीकेआईएचएस धरान, दुहवी सुनसरी, जीएचसीए काठमाण्डौं, जनकपुर यूनाईटेड बिरगंज र आयोजक फूलबारी क्रिकेट क्लबले उपाधीका लागि प्रतिष्पर्धा गर्ने छन् ।प्रतियोगिताको बिजेताले ट्रफी सहित दुई लाख १ हजार पुरस्का पाउने छ भने दोस्रो हुने टिमले १ लाख १ हजार पाउने छ ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटकको प्रतियोगितामा मैदानमा अत्याधुनिक लाइटको व्यवस्था सहित आइपीएल एलईडी स्टम्प, लोगो सहितको बलका साथै चेयर्स गर्लसको समेत प्रयोग गरिने छ ।

तपाईको प्रतिक्रिया