अमर काफ्ले/सुनसरी सदरमुकाम इनरुवामा आधुनिक शैलीको पार्क बन्ने भएको छ । जसको नाम यूएन पार्क रहने छ ।
यूएनडीपीले इनरुवा नगरपालिकाको वडा नम्वर २ मा उक्त पार्क निर्माण गर्न लाग्दै छ । उक्त पार्क बहुसांस्कृतिक हुनेछ भने स्वच्छ, हराभरा र स्वयं उर्जा सम्पन्न हुने छ ।


लक्ष्मी नारायण मन्दिर पछाडीको साढे चार कट्ठा क्षेत्रफलमा निर्माण गरिने पार्कको लागत १ करोड ६१ लाख ७५ हजार २ सय ५० रुपैंया रहने बताइएको छ । पार्क निर्माणमा यूएनडीपीले ८७ लाख २० हजार २ सय ५० रुपैंया खर्च गर्दै छ । पार्क निर्माण स्थलमा अन्य आवश्यक संरचना निर्माणलागि इनरुवा नगरपालिकाको कार्यालयले समेत सहकार्यका रुपमा ७४ लाख ५५ हजार खर्चिने नगर प्र्रमुख राजन मेहताले बताए ।


पार्क निर्माणमा रकम अभाव भए आवश्यक थप रकम समेत यूएनडीपीले उपलब्ध गराउने बताइएको छ । पार्क निर्माण विषयमा इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
सीडीओ सुनसरीको समन्वयमा निर्माण गर्न लागिएको पार्क सन् २०२२ भित्रमा पुरा गरिसकिने कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।


पार्क निर्माणकालागि प्रारम्भिक चरणको काम थालिसकिएको बताएका भट्टराईले यूएन पार्क बहुसांस्कृतिक, आधुनिक र सुविधा सम्पन्न हुने बताए । उनले इनरुवामा बन्ने पार्क प्रदेशकै नमूना बन्ने बताए ।
अपाङ्गमैत्री पार्क उचित पार्किङ र बालमैत्री सहितको प्रविधियुक्त हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
यूएनडीपीले दिगो बिकास लक्षको अवधारणा अनुरुप पार्क निर्माणको कार्य थालेको हो । यूएनडीपीले धनकुटामा नमुना गाउँ निर्माण गर्दै छ भने इनरुवामा आधुनिक पार्क निर्माण गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया