- दिपेन्द्र यादव

इनरुवा। पछिल्लो समय सुनसरीका किसानहरुको जुट खेती तर्फ आकर्षण घट्दै गएको पाईन्छ। जिल्लाको दक्षिणवर्ती क्षेत्र नरसिंह, भोक्राहा, भुटाहा, घुस्की, बसन्तपुर, देवानगञ्ज, कप्तानगञ्ज, राजगञ्ज सिनुवारी लगायतका क्षेत्रका किसानहरुले लगाउदै आएका जुट (पटुवा) यसवर्ष कम मात्रामा खेती गरेपनि मजदुरको अभावमा अहिले सम्म जुट खेतमै सुक्दै आएको स्थानीय विरेन्द्र यादवले बताए ।

कुनै बेला जुटखेतीका लागि उर्वर मानिने यस क्षेत्रमा हालका वर्षहरुमा यसको खेती घट्दै गएको कारण निकासीमा पनि कमी आउने अवस्था छ। सुनसरी जिल्लाका किसानहरुले नगदे बालीका रुपमा चर्चित जुटखेती पछिल्लो वर्षमा कमी हुँदै आएको अवस्था छ। सुनसरी तथा मोरङ जिल्लामा सञ्चालित १० वटा जुट उद्योगका इकाइका लागि वर्षेनी ८० देखी ९० हजार मेट्रिक टनभन्दा बढी कच्चा जुट आवश्यक पर्दछ। तर सुनसरीका जुट अर्थात पटुवा किसानले उत्पादन गर्ने जुट भने १ हजार चार सय मेट्रिक टन मात्र छ । जिल्लामा जुट खेती कम हुन थालेपछि जुट उद्योगको लागि चाहिने कच्चा पदार्थको लागि परनिर्भर हुने क्रम बढेको छ। एकताका कच्चा जुट निकासी गर्दै आएको नेपालले कच्चा जुटमा परनिर्भर भएको छ ।

सुनसरीका किसानहरुलाई प्रोत्साहन अभावसँगै लगानी नउठ्ने समस्या बढेपछि उत्पादन हुने जुट खेतीप्रति कृषकको आकर्षण घट्दै गएको छ। कृषि मजदुरको अभावसँगै उत्पादनपछि मूल्य नपाउने समस्याले पिरोलिएका किसानले जुट खेतीलाई वार्षिक झन्झटको रूपमा लिँदै गर्दा जुट खेती प्रतिको आकर्षण घट्दै गएको हो। जुट खेतीमा किसानको आकर्षण वर्षेनी घट्दै जाँदा कच्चा जुटको अभाव भने मोरङ–सुनसरी औद्योगिक करिडोरका जुट उद्योगलाई छ । नेपालमा सुनसरी जिल्ला जुट खेतीको राम्रो सम्भावना भएका जिल्ला हो। कच्चा जुट अभावका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका जुट उद्योगले भारत र बङ्गलादेशबाट जुट आयात गरेर वस्तु उत्पादन गर्दै आएको पाइन्छ। स्वदेशी कच्चा पदार्थ उत्पादनमा वर्षेनी कमी हुँदै गएपछि ठूलो लगानीका र धेरै मजदुरलाई रोजगारी दिने उद्योगसमेतलाई समस्यामा पर्दै गएको छ।

जुट बाली भित्र्याउने मुख्य समय मानिएको अहिलेको समयमा समेत किसान खरिदकर्तासम्म आइपुगेका छैनन् । साउनदेखि असोजसम्मको समयलाई जुट उत्पादन र बिक्रीको समय मानिन्छ । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभाव झेल्दै उत्पादन गरेको जुटको उचित मूल्य नपाएका कारण उत्पादन गर्न छाडेको देवानगञ्जका किसान हरेराम मेहताको भनाइ छ। कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख बौवालाल चौधरीका अनुसार सुनसरी जिल्लामा मात्रै ७ हजार भन्दा बढी मेट्रिक टन जुट उत्पान हुने जिल्लामा पर्दछ। जुटबाट उत्पादन भएको वस्तुको प्रयोगमा अनिवार्यता नहुँदा नेपालमा यसको खपत समेत कम छ । भारतमा प्लाष्टिकजन्य वस्तुका झोला तथा बोरा र प्याकेजिङ निषेध गर्दै गएको बेला नेपालमा जुट उद्योगका उत्पादन प्रयोगबारे सचेतना फैलाउनु भन्दा भारतबाटै आयात गरिएका प्लाष्टिक जन्य सामानको प्रयोग हुने गरेको छ ।

तपाईको प्रतिक्रिया