-  नसीम अन्सारी

इनरुवा। वीरगञ्जमा भएको एसिड प्रहारको घटनामा मुस्कानलाई सुरुमा पानी भनेर एसिड पिलाउने प्रयास भएको खुलासा भएको छ । मुस्कानले पिउन नमानेपछि उनीहरुले मुस्कानलाई एसिड प्रहार गरेका थिए ।

पहिला पानी भनेर एसिड पिउन लगाउन खोजिएको तर पिउन नमानेपछि छ्यापिएको जानकारी आफूलाई भतिजीले दिएको मुस्कानका ठूलो बुवा भुलन मियाँले बताए । मियाँले घटनापछि नारायणी अस्पतालमा मुस्कानसँग आफ्नो कुराकानी भएको बताए । ‘उनी विहानी कक्षामा अध्ययनका लागि एक्लै विद्यालय जाँदै थिईन, उनीहरु पूर्व योजनाका साथ एसिड लिएर आएका रहेछन्,’ उनले भने, ‘प्लाष्टिकको जगमा एसिड लिएर बसेका उनीहरुले मुस्कानलाई आउ पानी खाउ भनेका रहेछन्, तर उनले ‘मलाई पानी खानु छैन तपाईँको पानी तपाईँ नै खानुस’ भनी हिँड्न लाग्दा उनी माथि एसिड प्रहार गरेर उनीहरु भागे थिए।

एसिडले पोलेर मुस्कान रुन कराउन थालेपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेको र प्रहरीले उद्धार गरेर नारायणी अस्पताल पुर्याइएको थियो । नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि उनको थप उपचार किर्तिपुर अस्पतालमा भइरहेको छ । घटनामा संलग्न अर्का एक युवकलाई पनि प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज छपकैयाबाट १६ वर्षीय माजिद आलम अपरान्ह पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमाथि नेपाल मुस्लिम संघ १ नं. प्रदेश कमिटीका सचिव नईम अन्सारीले अपराधीहरुमाथि कडा भन्दा कडा कानुनी सजाय कर्वाही गर्नुपर्छ भन्दै नेपाल मुस्लिम संघ १ नं. प्रदेश अधिकारी पेजमा प्रेस विज्ञप्ति निकालेर सरकारसंग कार्वाहीकाे माग गरेको छ। साथै विद्यालय जादै गरेकी पर्सा जिल्ला छपकैया की १६ बर्सिय मुस्कान माथि गरिएको एसिड प्रहारको खबरले हामी सबै लाई स्तब्ध तुल्याएको छ। यसतो अमानवीय महिला विरोधी कार्यको हामी घोर निंदा एवम भर्त्सना गर्दै यस्तो दुष्कर्म गर्नेलाई हदै सम्म को सजाय दिनु पर्छ भन्ने माग गर्दछौं विज्ञप्तिमा उल्लेख रहेको छ।

तपाईको प्रतिक्रिया