- अमर काफ्ले

इनरुवा। खर्च अभावमा स्वास्थ्योपचारबाट बञ्चित बनेका शिक्षक सरोज दुलालको उपचारकालागि इनरुवा नगरपालिकाले नगद ५ लाख सहयोग गरेको छ । बोनम्यारो ट्रान्सप्लान्टकालागि आवश्यक खर्च जुटाउन नसक्दा जीवनमरणको दोसाँझमा परेका शिक्षक दुलाललाई भेटी नगरप्रमुख राजन मेहताले नगद ५ लाख जिम्मा लगाएका हुन् । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीको तलब भत्ताबाट कटौति गरी सहयोग रकम उपलब्ध गराउने बताएका मेहताले खाता संचालनमा नरहेकाले तत्कालकालागि ऋण खोजेर बिरामीलाई सहयोग बापतको रकम हस्तान्तण गरिएको बताए ।

मेहताले नगरपालिकाको खाता संचालनमा आएपछि निर्णय भएबमोजिमको रकम संकलन गरी ऋण चुक्ता गरिने बताए । उपचारमा ढिलाई भैरहेको हुँदा तत्काल रकमको व्यवस्था गरी बिरामीलाई दिइएको मेहताले बताए ।नगरपालिका सहित अन्य सहयोगी दाताहरुबाट रकम संकलन भएपछि दुलाललाई उपचारकालागि भेलोर स्थित सीएमसी अस्पताल लैजाने तयारी गरिएको छ ।बिरामीलाई अस्पताल लैजान बागडोरा एयरपोर्ट पुर्याइएपनि प्लेनले लान नमानेपछि पूनः इनरुवा फर्काइन लागिएको बुझिएको छ । प्लेनबाट सम्भव नभएपछि कसरी अस्पताल पु¥याउने बिषयमा छलफल भैरहेको शिक्षक सरोज बरालले जानकारी दिए ।अस्तालले २ महिना भित्र उपचार सम्भव नभए बिरामीको ज्यान जाने बताएको भएपनि खर्च अभावमा परिवारले दुलाललाई घर फर्काएको थियो ।स्थानीयस्तरमा मात्रै नभएर देश, विदेशमा रहेका शुभेच्छुक दाताहरुले सहयोग उपलब्ध गराएपछि दुलालको प्रारम्भिक उपचार खर्च जुटेको छ । करिव १६ लाखको हाराहारीमा रकम जुटेको अनुमान गरिएको छ । यद्यपी उपचारमा आवश्यक रकम अझै अभाव हुने परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया