काठमाडौँ । १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन् । पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र । अस्पताल पेटीमा बुबा ९ठूलो बुबा० कृष्णबहादुर भने चिन्तित मुद्रामा छन् । उनलाई एकछिन चैन छैन । घरि छोरीको छेउमा पुग्छन्, घरि बाहिर टहलिन निस्कन्छन् । अस्पतालले छोरीको स्थितिबारे खुलेर नभनिदिएका कारण उनलाई चिन्ता बढेको हो । छोरीको कस्तो उपचार हुने हो रु उनलाई कति दिन अस्पताल राख्नुपर्छ भन्नेबारे जानकारी नपाएर आफू बेचैनीमा परेको उनले बताए ।
अछामको रामारोशन गाउँपालिका–४ बाट उपचार गर्न काठमाडौं आएका उनलाई यहाँ सबै नयाँनौलो लागेको छ । छोरीको स्वास्थ्य अवस्था कस्तो हुने हो भन्ने चिन्ता छँदै छ, सँगै आफूसँग भएको खर्च सकिन लागेकाले पनि पिरोलेको छ । वडाले दिएको २० हजार रुपैयाँ लिएर काठमाडौं आएका उनले एम्बुलेन्सलाई मात्र १० हजार रुपैयाँ बुझाए । उनीसँग एक जना प्रहरी जवान पनि आएका छन् । वडाको सिफारिसमा आएका उनको खानाखाजा खर्च कृष्णबहादुरले बेहोर्दै आएका छन् । त्यसैले बाँकी पैसा पनि सकिन लागेको छ ।‘बोल्न पनि नसक्ने बच्चीमाथि यस्तो घिनलाग्दो व्यवहार गर्ने मान्छलाई जेल हाल्नपर्ने हो,’ उनले भने, ‘पहिलो पटक काठमाडौं आएको, कता जाने, के गर्ने, केही मेसो पाउँदिनँ । म पो जेल परेजस्तो भएको छु ।’ घरको खेतीपाती र बस्तुभाउ के भए । बोल्न नसक्ने भाइबुहारीले कसरी घर सम्हाले होलान् भन्ने पिरलो छ । त्यसैले बेलाबेला अस्पताल छाडेर घर भागौं जस्तो पनि लाग्छ । उनका अनुसार पीडित बालिकाका अभिभावक पनि सुस्त छन् । बोल्न जान्दैनन्, घरव्यवहार गर्न सक्दैनन् । घरव्यवहार, छोरीको उपचार, कानुनी लडाइँ आदि सबै कृष्णबहादुरको टाउकोमा आइपरेको छ ।

आफू कसरी गर्भवती भएँ भन्ने जानकारी बालिका दिन सक्दिनन् । उनीमाथि जबर्जस्ती करणी गर्ने व्यक्ति को हो भन्ने पनि बताउन सक्दिनन् । चिकित्सा भाषामा उनको समस्या बौद्धिक अपांगता हो । यस्ता व्यक्तिको उमेरसँगै हुनुपर्ने मानसिक विकास हुँदैन, उनीहरू बालबालिकाझैं व्यवहार गर्छन् । आफूलाई हानिनोक्सानी भएको पनि थाहा पाउँदैनन् । आमाबुबा सुस्त भएकाले सन्तान पनि उस्तै जन्मिएको हुन सक्ने कृष्णबहादुरको बुझाइ छ ।बालिका विद्यालय गएर पढ्न नसक्ने भएकाले उनलाई घरमै राख्ने गरिएको उनले बताए । हेरचाह गर्ने व्यक्ति नभएकाले टाढाको मेलापात जाँदा थुनेरसमेत जानुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘हामी खेतीकिसानी गरेर खानुपर्ने मान्छे, दिनभरि घरमा हुन्थेनौं । एक्लो देखेर कसले छोरीको यस्तो अवस्था बनाइदियो,’ उनले भने ।एक महिनाअघि बालिकालाई कुकुरले टोकको थियो । उपचार गर्न लैजाँदा स्वास्थ्यकर्मीले गर्भवती भएको सुनाउँदा बोहरा परिवारको चैन हरायो । त्यही दिनदेखि कृष्णबहादुर वडा, कार्यालय, प्रहरी, मिडिया र अस्पतालको चक्करमा फसेका छन् । घरव्यवहार छाडेर छोरीको उपचार र न्यायका लागि भौंतारिइरहेका छन् । त्यसैको चिन्ता खप्न नसकेर कृष्णबहादुर टाउको समात्छन् । भन्छन्, ‘मेरो त दिमागै उल्टा भइसक्यो । बरु बौलाउन पाए पनि हुन्थ्यो ।’ अस्पतालले बालिकालाई ‘अब्जर्भेसन’मा राखिएको बताएको छ । बालिकाको उपचार सुरु नभएको र भिडियो एक्सरेलगायत रिपोर्ट आइसकेपछि गर्भपतन गर्नेरनगर्ने भन्ने निर्णय लिइने अस्पतालले जनाएको छ । बालिकाको उपचार निःशुल्क गरिने अस्पतालका निर्देशक डा। जागेश्वर गौतमले बताए । औषधि र बेड खर्च पनि अस्पतालले लिएको छैन । ‘लैंगिक हिंसासम्बन्धी घटना भएकाले बालिकाको उपचार खर्च निःशुल्क गर्ने व्यवस्था गरिएको छ । हामीले हिंसासम्बन्धी बिरामी, गर्भवती र सुत्केरीको उपचारमा शुल्क लिने गरेका छैनौं ।’ अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया