- अमर काफ्ले

उपनिर्वाचन अन्र्तगत सुनसरीको धरान उपमहानगरपालिकामा समपन्न निर्वाचनमा ५९ दशमलव ४१ प्रतिशत मत खसेको छ । ९२ हजार ८ सय ५३ मतदाता रहेको धरानको आजको उपनिर्वाचनमा ५९ दशमलव ४१ प्रतिशत अर्थात ५५ हजार १ सय ६३ मत खसेको हो ।

सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलका अनुसार ५९ दशमलव ४१ दशमलव मत खसेको छ । यद्यपी विवरण रुजुको क्रममै रहेको पोखरेलले बताए । अघिल्लो पटकको निर्वाचनमा धरानमा ६७ दशमलव ८६ प्रतिशत मत खसेको थियो । सो बेला धरानको मतदाता संख्या ७९ हजार २ सय ९० रहेको थियो ।धरानमा मेयर पदकालागि नेकपाका तर्फबाट प्रकाश राई र नेपाली काँग्रेसका तिलक राईबीच प्रमुख प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।एमालेको गढ मानिदै आएको धरानमा २०७४ को स्थानीय तह निर्वाचनमा एमाले तर्फका उमेद्वार तारा सुब्बा बिजयी भएका थिए । सुब्बाले काँग्रेसका तिलक राईलाई ४ हजार ८ सय ७३ मतले पराजित गरेका थिए । सुब्बासँग पराजित तिलक राईलाईनै काँग्रेसले उपनिर्वाचनमा धरानको मेयर पदमा चुनावी मैदानमा उतारेको छ ।मेयर पदमा निर्वाचित तारा सुब्बाको निधन भएपछि मतदाताले पूनः मेयर पदकालागि मतदान गरेका हुन् । त्यसैगरी वडा नम्वर ७ का अध्यक्ष भुवन मोक्तानको समेत पद रिक्त रहेकाले सो पदकालागि समेत वडावासीले मत खसालेका छन् ।मेयरमा तत्कालिन अवस्थामानै जित हात पारेको एमाले माओवादीसँगको एकीकरण पश्चात नेकपाका नाममा चुनावी मैदानमा छ । नेकपाले धरानमा आफ्नो जित सुनिश्चित रहेको बताइरहँदा बिकास र समृद्धिको मुद्धालाई अघि सारेको नेपाली काँग्रेसले धरानवासीको परिवर्तनको इच्क्षाले नतिजा आफ्नो पक्ष्यमा आउने अड्कल गरिरहेको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार धरानमा सम्पन्न निर्वाचन शान्तिपूर्ण रुपमा समपन्न भएको छ ।मतपेटिका संकलनको क्रम थालिएकाले बढीमा २ घण्टाभित्र सबै मतपेटिका संकलन भैसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । केही पहाडी इलाकाबाट मतपेटिका आउन ढिला हुने अनुमान गरेको कार्यालयले धेरैजसो मतदान केन्द्रबाट पेटिका ल्याउने काम भने थालिसकिएको जनाएको छ । दलीय सहमति जुटेको खण्डमा रातीको १० बजेपछि मतगणना थालिने निर्वाचन अधिकृतको कार्यालय धरानले जनाएको छ ।

तपाईको प्रतिक्रिया