हेटौंडा । मकवानपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अन्तर्गतको एक तेस्रो लिङ्गीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। हेटौंडा १२ पदम पोखरीकी सानु थिङले ३१ वर्षको उमेरमा आफ्नो पहिचान सहितको नागरिकता प्राप्त गरेकी हुन्। हेटौंडा १२ का वडाअध्यक्ष ललित घलानको सिफारिस एवं हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देलसहित स्थानीयलाई साक्षी राखी जिल्ला प्रशासन कार्यालय मकवानपुरले थिङको लिङ्ग ‘अन्य’ उल्लेख गरी नागरिकता दिइएको हो। बुबा सूर्यबहादुर थिङ र आमा मंगलमाया थिङको वंशजको आधारमा सानुलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत मदन लामा थिङले सानुको नाममा नागरिकताको प्रमाणपत्र जारी गरेका हुन्। लिङ्गको आधारमा पुरुष वा महिलालाई मात्र नागरिकता प्रदान गर्दै आइएकोमा यौनिक तथा लैंगिक अल्पसंख्यकको हक संविधानमै उल्लेख भएबमोजिम थिङको लिङ्ग ‘अन्य’ उल्लेख गरी नागरिकता दिइएको हो।

यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिलाई लिङ्गको महलमा अन्य जनाई जारी गर्नेसम्बन्धी निर्देशिका २०६९ को आधारमा प्रशासनले नागरिकता जारी गरेको हो। संविधान र निर्देशिकामा पनि यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सुरक्षित गरिए पनि प्रशासन कार्यालयले भने नागरिकता दिन आनाकानी गर्ने गरेको निलहीरा समाज मकवानपुरकी कार्यक्रम संयोजक सुरज किरणले जानकारी दिए।‘कानुनी व्यवस्था भए पनि तेस्रो लिङ्गीलाई नागरिकता पाउन धेरै संघर्ष गर्नुपर्ने अवस्था कायमै छ। सानुलाई नागरिकता प्रदान गर्न पनि हामीले धेरैलाई गुहार्नु पर्‍यो। धेरै संघर्ष गर्नुपर्‍यो’ किरणले भनिन्। यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट तेस्रोलिङ्गी अजिता भुजेल र नेहा मानन्धरले पनि आफ्नो पहिचानको आधारमा नागरिकता पाइसकेका छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia