- दिलिप कुमार साह

राजविराज । जिल्लाको डाक्नेश्वरी नगरपालिकामा लगाईएको ताला २२ बुँदे सम्झौता भएपछि  आईतबार खुलेको छ ।१४ दिन पछि आन्दोलनरत यूवा र वार्ता टोलि बीच सम्झौता भएपछि आइतबार देखि कार्यालय संचालनमा आएको छ । नगरपालिकामा आर्थिक अनियमितता भएको, कर्मचारी समयमा नआउने गरेको, विभिन्न काममा भएको खर्चको जानकारी नदिईएको, गुणस्तरहिन काम भएको आरोप लगाउँदै स्थानीय युवाहरुले मंसिर २९ गते कार्यालयमा तालावन्दी गरेका थिए ।तालाबन्दी गरी नाराबाजी, प्रदर्शन तथा प्रजिअको ध्यानाकर्षण गराउँदा पनि माग पुरा नभएकोले तालाबन्दीको समय लम्बिएको थियो । नगरपालिकाको उपमेयर ईन्दुदेवी यादव वार्ता संयोजक र आन्दोलनरत पक्ष बीच सहमति भएपछि आइतबार देखि कार्यालय संचालन भएको छ ।

सहमति पत्रमा आन्दोलनकारीका तर्फवाट अरविन्द यादव, प्रदिप यादव, रोहित चौधरी, उमेश यादव, शम्भु साह, कृष्णानन्द यादव र सतेन्द्र मण्डलले हस्ताक्षर गरेका छन् भने नगरपालिकाका तर्फवाट वार्ता टोली संयोजक यादव, सदस्य दुखहरण मण्डल, उमेश कुमार यादव, रहमान मियाँ, रामसुन्दर मण्डल, ओम प्रकाश यादवले हस्ताक्षर गरेका छन् ।सहमति पत्रमा कार्यालयले खरिद गरेका सरसमानको खरिद विवरण उपलब्ध गराउनुपर्ने, कार्यालयमा कर्मचारीहरु समयमा आउनु पर्ने र नगरपालिका भितर रहेका सबै कार्यालयहरुमा डिजिटल माध्यामवाट हाजिरीको ब्यवस्था गर्नुपर्ने, समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाही गर्नुपर्ने लगायतका कुरा उल्लेख छ ।सहमतिमा हस्ताक्षर भएपछि उपमेयर तथा वार्ता टोलीको संयोजक यादवले नगरपालिकाको कार्यालयको ताला खोलेका छन् ।

तपाईको प्रतिक्रिया