रगत अभावलाई मध्यनजर गर्दै जेसीज इनरुवाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् ।


कोभिड १९ अर्थात नोवेल कोरोना भाइरसका कारण पूर्वमा बढ्दो रगत अभावलाई कम गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको इनरुवा जेसीजका अध्यक्ष चन्दन यादवले बताए ।
यादवले ब्लड बैंकमा रगत अभाव भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीहरुको उपचारमा कठिनाई उत्पन्न हुन थालेकाले रक्तदान कार्यक्रमको आयोजना गरी जानकारी दिए । इनरुवा अस्पताल हातामा आयोजित रक्तदान कार्यक्रममा प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला सहित इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अधिकांशजसो युवाहरुले रक्तदान गरेका थिए । नोवेल कोरोना भाइरसको बढ्दो त्रास र जोखिमका बाबजुत स्थानीयहरुले रक्तदानमा सहभागिता जनाएको आयोजक इनरुवा जेसीजले जनाएको छ । जेसीज इनरुवाले नेपाल रेडक्रस सोसाईटी सँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जेसीज इनरुवाले रक्तदान कार्यक्रमलाई नगरका अन्य स्थानमा समेत निरन्तरता दिइने जनाएको छ ।

तपाईको प्रतिक्रिया