इनरुवा चैत्र १ / सुनसरीमा हालसालै सरुवा भई आइपुगेका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले सुनसरीवासीले आमूल परिवर्तनको अनुभूति छिटै गर्न पाउने बताएका छन् ।
उनले सुनसरीलाई सुरक्षित, सुव्यवस्थित र शान्तिपूर्ण जिल्ला बनाउने आफ्नो अठोट रहेको बताएका हुन् ।
सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रजिअ चापागाईले आफ्नो प्रमुख दायित्व जिल्लावासीमा भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउनु रहेको बताए ।
प्रजिअ चापागाईले आफु एक्सन ओरन्टेड प्रशासक भएकाले जिल्लावासीले वास्तविक परिवर्तनको आभाष गर्नेमा आश्वस्त रहेको बताए । कैलालीमा महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेर आएको छु । सुनसरीमा समेत परिवर्तन देखाएरै छाड्छु । गफ मात्र गर्ने सिडियो हैन म काम गरेर देखाउँछु प्रजिअ चापागाईको भनाई थियो ।
उनले गुण्डागर्दी,चन्दा आतंक, तस्करी लगायत निमिट्यान्न पारी छाड्ने बताए । मधेशवादी दल लगायत विभिन्न राजनैतिक तथा जातिय संगठनले माग पुरा गर्ने बहानामा चर्काउने आन्दोलनले शान्ति सुरक्षामा पुर्याउने खलललाई मध्यनजर गरी सुरक्षा रणनीति अवलम्बन गर्नु आफ्नो प्रमुख दायित्व रहेको समेत उनले स्पष्ट पारे ।
भदौ ७ गते कैलालीको टीकारपुरमा मधेस आन्दोलनका नाममा भएको हिंस्रक प्रदर्शनमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक डेढ वर्षीय बालकको क्रुर ढंगले हत्या भएपछि चापागाईलाईं सरकारले त्यहाँ खटाएको थियो ।