Bhamdev-khum

३ चैत्र, काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खुमबहादुर खड्काको एउटा सनसनीपूर्ण बयानले सत्तारुढ नेकपा एमालेमा खैलाबैला मच्चिएको छ ।

यो विषयमा एमाले उपाध्यक्ष वामदेव गौतमले विज्ञप्ति नै निकालेका छन् । विज्ञप्ति जारी गर्दै गौतमले तत्कालिन समयमा नेकपा एमाले फुटाउने विषयमा नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य खड्काको संलग्नता नरहेको दाबी गरेका छन् ।

नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि सरकार परिवर्तनको विषयमा नवनिर्वाचित खड्काले ‘वामदेव गौतमसँग मिलेर एमाले पार्टी त फुटाए, ओली सरकार ढाल्नु के ठूलो कुरो भयो ? भनेपछि गौतमले बुधबार विज्ञप्ति जारी गरी खड्काको उक्त भनाईको खण्डन गरेका हुन् ।

उनले भनेका छन्- ‘नेपाली काँग्रेसका नवनिर्वाचित नेता खुम वहादूर खड्काले नेकपा(एमाले) विभाजनमा आफ्नो प्रमुख हात रहेको भन्दै म वामदेव गौतमलाई साक्षीका रुपमा प्रस्तुत गरेको विषय प्रति मेरो गम्भीर ध्यान गएको छ ।’

पार्टी विभाजन अघि र पछि खुमबहादुरसँग आफ्नो कुनै सम्पर्क नरहेको दाबी गर्दै गौतमले खुमबहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए आफूले पार्टी नफुटाउने उनले बताएका छन् ।

‘खुमबहादुर खड्कासँग मेरो पार्टी विभाजनका अगाडि वा तत्काल पछाडि पनि भेट भएको थिएन । खुमवहादुरसँग मैले सल्लाह गर्नुपर्ने कुनै आवश्यकता थिएन र त्यो कुनै पनि अवस्थामा महसुस पनि गरिन । खुमवहादुर खड्का सिद्धान्तसम्मत कुरा गर्ने व्यक्ति भएको कहिल्यै महसुस पनि मैले गरिन । खुमवहादुर जस्ता व्यक्तिहरु एमाले विभाजनमा कुनै न कुनै तरिकाले लागेका छन् भन्ने थाहा मात्र पाएको भए पार्टी विभाजनमा मेरो संलग्नता कुनै पनि हालतमा हुने थिएन ।’ उनले भनेका छन् ।

पार्टी फुटिसकेपछि काँग्रेस नेतृत्वको सरकारमा नेकपा(माले) सामेल हुने सन्दर्भमा खुमबहादुरसँग भेट भएको उनले स्वीकार गरेका छन् ।

गौतमले भनेका छन्– ‘उनले मलाई त्यसबेलाका आइजीपी अच्यूत कृष्ण खरेललाई हटाउने विषय तपाइले उठाउनु होला गिरीजाबाबुले मान्नुहुन्छ भनेर सुझाव दिएका थिए । त्यसलाई मैले अडान राख्नाले कोइराला सरकारमा सामेल भैसकेपछि त्यही कारण सरकारबाट हट्नुपर्यो । जुन घटना तत्कालिन नेकपा(माले) का निम्ति आत्मघाती भयो ।’

नेकपा(माले) संचालनका लागि खुमवहादुर गिरिजा प्रसाद कोइरालाबाट वा उनीहरु नजिकका व्यवसायी वा अन्य कुनै काँग्रेसका कारण मैले एक रुपैया पनि सहयोग वा अन्य चन्दा नलिएको गौतमले दाबी गरेका छन् । ‘त्यसबेला सहयोग गर्ने व्यक्तिहरु अहिले पनि जिवीत छन् र उनीहरु अहिले सबै एमाले पार्टी भित्र वा एमालेकै शुभचिन्तक भएर रहेका छन् ।’

 

तपाईको प्रतिक्रिया