Untitled-3

३० असोज, काठमाडौं/ सरकारले वार्ताको आहृवान गर्दै पत्र पठाएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले त्यसको जवाफ दिने तयारी गरेको छ ।
नेताहरुका अनुसार शनिबारै बैठक बस्ने तयारी छ । बैठकका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अन्य नेताहरुसँग कुराकानी गरिरहेका छन् । तर, मधेसी मोर्चाका नेताहरुले वार्ताको आहृवान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको पत्रको भाषाप्रति भने असन्तुष्टि जनाएका छन् । मोर्चाका एक नेताले भने- ‘वार्ताको आहृवान गर्नु सकारात्मक हो । तर, जमिनदारी भाषा प्रयोग गर्नुभएको छ । सल्लाहकार राम्रो छैन भने हामीलाई भने हुन्छ ।’ सरकार र मोर्चाबीच सुरु भएको वार्ता नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै छाँयामा परेको थियो । मधेसी मोर्चाले वार्ता आहृवान सकारात्मक भएपछि पत्रमा कहाँ कहिले र कोसँग वार्ता गर्ने भन्ने प्रष्ट नभएको बताएको छ ।
साथै आन्दोलन रोकेर वार्ता हुन नसक्ने बताएको छ । मोर्चामा आवद्ध तमसपाका वरिष्ठ नेता रामनरेश राय यादवले भने-आन्दोलन रोकेर वार्ता हुँदैन सक्दैन । आन्दोलन जारी राख्दै वार्तामा बस्न हामी तयार छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मधेसी मोर्चालाई पत्र पठाएर वार्तामा आउन आहृवान गरेका थिए । पत्रमा आन्दोलनका कारण इन्धनलगायतको आपूर्ति असहज हुँदा जनताले दुःख पाएको र मुलुकलाई हानी भएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । साथै वार्तामार्फत राजनीतिक निकास दिई जनजीवन सहज बनाउन आन्दोलनका सम्पूर्ण कार्यक्रम रोकेर वार्तामा आउन आहृवान गरिएको छ ।

तपाईको प्रतिक्रिया