Digital-Nepal

५ चैत्र, काठमाडौ। पछिल्लो समयमा नेपाली एप डेभलपरहरुले बनाएका एन्ड्रोइड मोबाइल एप्लिकेशन गुगल प्लेस्टोरमा अपलोड गर्ने चलन बढेर गएको देखिन्छ । यस्ता एपहरुले हाम्रो दैनिक जीवनलाई सरल र सहज बनाएको महसुस गर्न सकिन्छ ।

हालसालै हाम्रो दैनिक जीवनमा प्रयोग हुने उपयोगी एप ‘डिजिटल नेपाल’ पनि सार्वजनिक भएको छ । एप्लिकेशनको नाम अनुसार नै हाम्रो दैनिक जीवनमा उपयोग हुने धेरै भन्दा धेरै सामग्रीलाई अटाउने साथै विभिन्न सुविधाका लागि धेरै एपहरु डाउनलोड गर्नु पर्ने बाध्यतालाई डिजिटल नेपालले केही हदसम्म भए पनि एउटै एपमा उपलब्ध गराउने प्रयास गरेको छ ।

डिजिटल नेपाल एपमा उपलब्ध साहित्य, कुकिङ गाइड, एल्लो पेज, संविधान, लोडसेडिङ्ग तालिका, भ्याट क्यालकुलेटर, एस एम एस, उमेर क्यालकुलेटर, नाम सुझाव, मिति परिवर्तन, एकाई परिवर्तन, जग्गाको एकाइ परिवर्तन, प्रेरणादायी भनाइहरु भित्र राखिएका सामाग्रीहरु एक पटक डाउनलोड भएपछी बिना इन्टरनेट पनि चलाउन सकिन्छ भने नयाँ सामाग्रीहरुका लागि भने इन्टरनेट कनेक्सनको आवस्यकता पर्दछ ।

Digital-Nepal1

के–के पाइन्छ त डिजिटल नेपालमा
एफएम रेडियो: एफएम रेडियो सुन्ने पारखीहरुका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनलाइनमा उपलब्ध एफएम रेडियोलाई समेट्ने प्रयास गरेको छ । इन्टरनेटको पहुँचमा रहेर संसारको जुनसुकै कुनामा रहेर पनि आफ्नो गाउँ ठाउँको रेडियो सुन्न सकिने छ ।

समाचार: नेपालमा हाल संचालनमा रहेका लोकप्रिय अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका ताजा समाचारहरु एकै ठाउबाट पढ्न सकिने सुविधा प्राप्त गर्न सकिनेछ ।

साहित्य: साहित्यप्रेमीहरुका लागि विभिन्न विधामा साहित्यिक सामग्री पढ्ने सुविधा उपलब्ध गराएको छ । ५००० भन्दा धेरै सामग्रीहरु अपलोड भइसकेका छन् ।

कुकिङ गाइड: गृहिणीहरुका साथै नयाँ खानेकुरा बनाउन सौख भएकाहरुलाई लक्षित गरी विभिन्न खानेकुरा बनाउन आवश्यक सामग्री र बनाउने तरिका उपलब्ध गरएको छ ।

एल्लो पेज: नेपालमा रहेका विभिन्न संघ, संस्थाको नाम, ठेगाना, फोन नम्बर, इमेल र वेभसाइड ठेगाना साथै शाखाहरु भएमा तिनीहरुको विवरण पनि डिजिटल नेपालले उपलब्ध गराउने प्रयास गरेको छ ।

संविधान: ‘नेपालको संविधान’ लाई समेत मोबाइलबाटै अध्ययन गर्न सकिने व्यवस्था डिजिटल नेपालले गरेको छ ।

लोडसेडिङ्ग तालिका: हामीले गर्ने कतिपय दैनिक जीवनका कामहरु लोडसेडिङ्ग तालिका अनुसार नै परिवर्तन गर्नुपर्ने अवस्थामा कतिबेला विजुली आउने र जाने भन्ने कुराको जानकारीको लागि लोडसेडिङ्ग तालिकालाई पनि एपमा समावेश गरिएको छ ।

भूकम्प: २०७२ साल वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर गएको शत्तिशाली भूकम्पपछि लगातार पराकम्पन आइरहेका छन् । र हामी सबैलाई कहाँ, कहिले, कति रेक्टर स्केलको भूकम्प गयो भनेर खुलदुली हुने गर्दछ । यस खुलदुलीको निवारणको लागि पनि डिजिटल नेपालले प्रयास गरेको छ । तत्कालै गएको भूकम्प र विगतका भूकम्पको विवरण पनि यो मोबाइल एपले उपलब्ध गराउने छ ।

दैनिक, साप्ताहिक, मासिक राशिफल : हामी सबै थोर बहुत राशिफलमा विश्वास गछौँ । त्यसैले यस एपले पनि हाम्रो दैनिक, साप्ताहिक र मासिक राशिफल उपलब्ध गराएको छ । राशिफल आचार्य प्रवर दैवज्ञ ज्योतिष पं. खगेन्द्र खनालले तयार पारेका छन् ।

विदेशी मुद्राको विनिमय दर : आजको विदेशी मुद्राको विनिमय दर के, कति रहेछ भन्ने कुराको चासो रहने गर्दछ । डिजिटल नेपालले यस कुरालाई पनि समावेश गरेको छ ।

सुन, चाँदीको मूल्य: सुन, चाँदीको मूलय उतारचढाव क–कस्तो रहेको छ भन्ने कुराको जानकारी पनि डिजिटल नेपालबाट प्राप्त गर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया