17102015094250Nigeria-blast-600x0

एएफपी, मैदुगुरी, आश्विन ३० /

नाइजेरियाको उत्तरपूर्वी सहर मैदुगुरीस्थित एक मस्जिदमा शुक्रबार दुई आत्मघाती आक्रमण भएका छन् । तिनमा परी ३० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपत् व्यवस्थापन केन्द्रका अनुसार अन्य ३२ जना घाइते भएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर छ । दुई महिलाले ती विस्फोट गराएका थिए । उक्त इलाकामा आतंककारी संगठन बोको हरामको पकड रहेको मानिन्छ । घटनाबारे प्रतिक्रिया व्यक्त गर्दै सेनाले बोको हराम समूहले देशको सार्वभौमिकतामाथि नै जोखिम उत्पन्न गराएको बताएको छ । राष्ट्रपति मुहम्मदु बुहारीले ६ वर्ष पुरानो गृहयुद्ध यसै वर्षभित्र अन्त्य हुनेमा आत्मविश्वास जाहेर गरेको एक दिनपछि उक्त आक्रमण भएको हो । आगामी डिसेम्बरसम्ममा सेनाले युद्ध अन्त्य गर्ने तालिका बनाएको उनले बताएका थिए । सहरको सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न खडा गर्दै अक्टोबरमा मैदुगुरीमा मात्र ४ पटक आक्रमण भइसकेको छ । बोको हराम इराक र सिरिया सक्रिय इस्लामिक स्टेट (आईएस) समूहको सहयोगी हो, जुन सन् २००२ मा इस्लामिक अतिवादीहरूले गठन गरेका हुन् । बोको हरामले गत मेमा राष्ट्रपति सत्तामा आएयता १ हजार ३ सय ५० जनाको हत्या गरिसकेको छ । आगामी डिसेम्बरपछि उक्त समूहको आक्रमण र नाइजेरियाको कुनै क्षेत्र कब्जामा लिने क्षमता अन्त्य गर्ने घोषणा राष्ट्रपति बुहारीको छ । यसै साता अमेरिकी सेनाको अफ्रिका कमान्ड प्रमुख डेभिड रोड्रिगेजसँग भेटेर उनले बोको हरामविरुद्धको कारबाहीमा सघाउन आग्रह गरेका थिए । अमेरिकी सेनाले गुप्तचरी सूचना, निगरानी र सैनिक सर्वेक्षण उपलब्ध गराउने वचन दिएको छ । नाइजेरियाका छिमेकी क्यामरुन, चाड र नाइजरमा समेत बोको हराम समूह सक्रिय छ । यसले मस्जिद, बजार र बस स्टेसनलाई मुख्य तारो बनाएर विस्फोट र आक्रमण गर्दै आएको छ । गत साता मात्र नाइजेरियाली सेना प्रमुख टुकुर बराटाईले आगामी केही दिन सेनाका लागि निर्णायक रहेको बताएका थिए । मुलुकको सार्वभौमिकतामाथि नै खतरा उत्पन्न भएको उल्लेख गर्दै उनले यस कठिन घडीको सामनाका लागि तयार रहन सेनालाई निर्देशन दिएका थिए । Ekantipur

तपाईको प्रतिक्रिया