इनरुवा चैत्र ९/ सुनसरीको दक्षिणवर्ति गाविस वसन्तपुरबाट हतियार सहित एक अपहरणकारी पक्राउ परेका छन् ।शंकास्पद गतिविधीका आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा अपहरणको कार्यमा संलग्न रहेको आशंकामा पश्चिम कुशाहा गा.वि.स. वडा न. ९ बस्ने वर्ष ३१ को इन्द्रदेव दासलाई नियन्त्रणमा लिएको थियो ।
को.१६ प.६१९३ नम्वरको मोटर साइकलमा युवति लिएर भारततर्फ जान लागेका दासको साथबाट प्रहरीले चेकजाँचका क्रममा एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली समेत बरामद गरेको छ ।अपहरणको सुराकी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका साथै मातहतमा रहेको प्रहरी वेश क्याम्प र ससस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा दासलाई नियन्त्रण्मा लिई अनुसन्धान अघि बढाइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
प्रकाशपुर वडा नम्वर ९ की स्थानीय २१ वर्षिया युवतिलाई जबरजस्ती मोटरसाइकलमा बसाएर दुई जना युवाहले भारतीय सीमावर्ति दक्षिणी गाविस वसन्तपुर पुर्याएका थिए ।युवाहरुले आफु प्रहरी भएको र सोधीखोजी गर्नुपर्ने भन्दै युवतिलाई मोटरसाइकलमा चढाएर भारतीय सीमावर्ति क्षेत्र पुर्याएको पीडित युवतिले प्रहरीसामू प्रारम्भिक बयान दिएको खुल्न आएको छ । घटनामा संलग्न अर्का व्यक्ति भने फरार रहेका छन् । उनको खोजी भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया