holiमित्रता, एकता तथा सद्भावरूपी रंगहरूको पावन पर्व होली नेपालको पहाडी भू–भागमा चैत ९ र तराईमा चैत १० मा खुसी आदानप्रदान गर्दै मनाइँदै छ । रंगीन जीवनमा रम्ने धेरै हुन्छन्, त्यही भएर धेरैले रंगको यस पर्वलाई महत्वका साथ लिने गरेका छन् । असत्यमाथि सत्यको विजय, शिवभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर शिवभक्त प्रह्लाद सकुशल रहेको किम्वदन्तीअनुसार होली पर्व मनाउने गरिन्छ ।

होलीलाई पर्वका रूपमा मनाउनुपर्छ । पर्वका रूपमा खुसी आदानप्रदान तथा रंग, अबीर तथा खानपानको उपयुक्त प्रयोग गरेर मनाउने धेरै व्यक्ति भए पनि पछिल्लो समयमा होलीका नाममा धेरै नै विकृति भित्रिएको छ । होलीलाई गलत ढंगले प्रयोग गरेका उदाहरण प्रशस्त छन् । नशालु पदार्थ, भाङ, रक्सी सेवन नियतबस गर्ने गर्छन् । साथै कतिले यसलाई जुवा, तास खेल्ने अधार बनाएका हुन्छन् । अत्यधिक तैलीय (चिल्लो) तथा मसालेदार पदार्थ प्रयोग गर्नाले पनि शरीरलाई हानि गर्ने धेरै छन् । फलस्वरूप बिरामी भएर अस्पताल आउन बाध्य हुन्छन् । वास्तवमा होली पर्व खुसीयालीको आधार बन्नुपर्छ, कुनै अप्रिय घटना नहोस्, कोही बिरामी नपरोस् भन्ने उद्देश्यका साथ मनाइनुपर्छ ।

स्वास्थ्यका हिसाबले सतर्क रहँदै होली मनाउनु जरूरी छ । होलीमा गलत रूपमा प्रयोग गरिने मादक पदार्थको सेवनले कति झगडा हुने गरेका उदाहरण प्रशस्त छन् । मोबिल, कालो मोसो, हानिकारक रंग, नालीको पानीले शरीरलाई नकारात्मक असर पु¥याउन सक्छ । तसर्थ होली खेल्दा स्वास्थ्यमा असर नपर्ने गरी वा कमभन्दा कम असर पुग्ने गरी मनाउनुपर्छ ।

हामीले रक्सी सेवन गरी कुटपिटका घटना, हातखुट्टा भाँचिएर अस्पताल भर्ना भएका धेरै घटना सुनेका, देखेका छौँ । होली खेल्दा स्वास्थ्यलाई कम असर गर्ने तरिकाले खेल्न भाङ–रक्सीजस्ता नशालु पदार्थ सेवन गर्नुहुन्न, गरिहाले पनि संयमित तवरले घरमै बसेर गर्नुपर्छ । ती नशालु वस्तुको सेवन गरेपश्चात् होली खेल्न बाहिर जाँदा आफू आफ्नो नियन्त्रणबाहिर गई दुर्घटनासमेत हुन सक्छ र साथीभाइमाझ झैझगडा पनि हुन सक्छ ।

अर्कोतर्फ स्वास्थ्यका हिसाबले होलीमा प्रयोग गरिने रंगबाट पनि सतर्क रहनुपर्छ । होलीमा प्रयोग गरिने विभिन्न रंगका रंगहरू रासायनिक वस्तु हुन् । जसको नकारात्मक प्रभाव शरीरमा हुने गर्छ भन्ने सबैले बुझ्नु जरूरी छ । होलीमा मुख्यतः प्रयोग गरिने रातो रंगमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व हुन्छन् ।

यी रासायनिक तत्वहरूले छाला, आँखा, कानलगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पु¥याउँछ । सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना बढ्छ । उक्त वस्तुहरू कुनै कारणवश खाने नलीमा प्रवेश गरे चक्कर आउने, वान्ता आउने, पेट दुख्ने हुन सक्छ । प्रायःजसो सबै रंगमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी गराउने गर्छ । फलस्वरूप छाला रातो हुने, चिलाउने, रातो डाम बस्ने हुन सक्छ । आँखामा प्रवेश गरे चिलाउने, रातो हुने, पानी बग्ने, हुन सक्छ । त्यस्तै कानमा प्रवेश गरे चिलाउने र पछि गएर कान पाक्नेसम्म हुन सक्छ ।

हुन त वैज्ञानिक दृष्टिकोणबाट शरीरलाई कम असर पुग्ने किसिमले रंग बनाइएका हुन्छन् । रंगमा पाइने विशाक्त रसायनका अणु एकअर्कासँग कसिएर बाँधिएका हुन्छन् । जसका कारण शरीरमा असर पर्दैन । नीलो रंगमा हुने विषाक्त साइनाइड, आइरनसँग कसिएर बाधिएको हुन्छ । तसर्थ शरीरमा विषको कुनै प्रभाव हुँदैन । तर यी रंगहरूले शरीरमा एलर्जी गर्ने प्रचुर सम्भावना रहन्छ । होलीका नाममा प्रयोग गरिने सिल्भर पेन्टमा हुने एलमुनियम ब्रोमाइडले एलर्जीका साथै क्यान्सर हुने सम्भावना बढाउँछ । त्यस्तै, होलीमा गलत नियतका साथ प्रयोग गरिने कालो मोसो, मोबिल, फोहोर पानी विकृति मात्र होइन, यसले शरीरमा गम्भीर नकारात्मक असर पार्न सक्छ । फोहोर पानीमा शरीरमा घातक जीवाणुको संक्रमण हुन सक्छ । साथै छिट्टै एलर्जी हुन सक्छ ।

होली खेल्दा घरका भित्ता नबिग्रने गरी एक खुला ठाउँमा आफूले चिनेको साथीभाइ तथा आफन्तसँग मात्र खेल्नु उपयुक्त हुन्छ । नचिनेका र होली खेल्न नचाहने व्यक्तिलाई होलीमा रंग्याउँदा विवाद बढ्ने सम्भावना रहन्छ । होली खेल्दा स्वास्थ्यका दृष्टिकोणबाट आफू बच्ने र अरूलाई बचाउने भरपुर प्रयास गर्नु उचित हुन्छ । यसो गर्नाले मात्र सौहार्दपूर्ण वातावरणमा होली खेल्न सबैलाई आकर्षित गर्नेछ । अन्यथा अनायासै व्यक्ति बिरामी हुने र झैझगडा बढ्ने सम्भावना बढ्छ । होलीको रंगको कम असर पार्न शरीरमा आफूलाई उपयुक्त तेल लगाएर खेल्नुपर्छ, कानमा कपास राख्नुपर्छ, आँखा, कान तथा मुखमा रंग लगाउनु कसैलाई पनि दिनु हुन्न । होलीको रंगको एलर्जी भएमा रंग नखेल्नु नै उचित हुन्छ । एलर्जी भएमा तुरून्त रंगबाट टाढिने तथा स्वास्थ्यकर्मीसँग उपचार गराउनुपर्छ ।

होलीलाई एकता, मित्रता, मेलमिलाप, सद्भावको आधार, सत्यको प्रतीक तथा खुसियालीको पर्वका रूपमा लिएर संयमित भएर स्वास्थ्यमा असर नपुग्ने गरी, भौगोलिक, धार्मिक, साम्प्रदायिक तथा जातीय सहिष्णुता कायम रहने गरी राष्ट्र शान्तिको कामनासहित मनाउनु नै आजको आवश्यकता हो । यसलाई सबैले मनन गर्नु जरूरी छ ।

स्वास्थ्य खबर बाट । डा. साह रंगदर्पण नेपाल (जनकपुर)का सल्लाहकार तथा पूर्वाञ्चल विश्वविद्यालय.शिक्षण अस्पतालका चिकित्सक हुन ।

 

तपाईको प्रतिक्रिया