Arsenal

१ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेष्टर युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीमाथि दबाव कायमै राखेका छन् ।शनिबार राति भएको खेलमा सिटीले बोर्नमाउथलाई ५-१ गोल अन्तरले पराजित गरेको थियो । लगतै भएको खेलमा आर्सनल र युनाइटेड पनि विजयी भएका छन् ।
आर्सनलले वाटफोर्डलाई ३-० ले पराजित गरेको छ । वाटफोर्डले पहिलो हाफ आर्सनललाई गोलरहित बराबरीमा रोकेको थियो ।
तर, दोस्रो हाफमा तीन गोल गरेको छ । ६२ औं मिनेटमा एलेक्स सान्चेजले खाता खोले । ६ मिनेटपछि नै ओलिभर जिरउडले गोल गरे भने ७४ औं मिनेटमा राम्सीले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए । म्यानचेष्टर युनाइटेडले इभर्टनलाई ३-० ले नै हराएको छ । उसका जितमा मोर्गन स्नाइडरलिन, हरेरा र वायन रुनीले गोल गरे । अर्को खेलमा चेल्सीले एस्टनभिल्लालाई २-० ले पराजित गरेको छ । उसको जितमा डिएगो कोष्टाले गोल गरे । अर्को गोल भने उपहार गोल थियो । जितपछि आर्सनल १९ अंकका साथ दोस्रो स्थानमा छ र लिग लिडरभन्दा मात्र २ अंकले पछि छ । युनाइटेडको समान १९ अंक नै भएपनि गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।
यो सिजन निकै खराव लयमा रहेको चेल्सी भने ११ अंकसहित ११ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया