अभिभावक जिम्मेवारी सम्हाल्नु निकै चुनौतीले भरिएको काम हो। आफ्नो बच्चालाइ सहि दिशामा हिडाइँ उज्जवल भविष्य तर्फ डोर्याउँने काम सोचै झै सजिलो हुन्न। कठोर वचन प्रयोग गरेर अरूमाथि आक्रोश व्यक्त गर्ने मानिसको बानी नै हुन्छ। तथापी, जब त्यो आक्रोश तपाईँ आफ्नो बालबच्चामाथि खन्याउनुहुन्छ, तब त्यसको परिणाम एकदमै नकारात्मक हुन जान्छ।

parents-scolding-their-children-1

त्यसैले, आफ्ना बच्चाहरूलाई भुलेर पनि यी ७ कठोर कुराहरू नभन्नुहोस्ः

१. “तेरो उमेरमा त मैले के-के गरिसक्याथेँ”

तपाईँले आफ्नो पालामा जे गर्नुभयो, जे गर्न सक्ने क्षमता थियो, त्योसँग आफ्नो बालबच्चालाई दाँजो गर्नु अभिभावकहरूको सबैभन्दा ठूलो गल्ती हुन जान्छ। कोहि पनि पूर्ण हुँदैनन्। एकचोटि तपाईँ आफ्नो बाल्यकाललाई सम्झिनुहोस् त, आफ्नो बाबुआमालाई कति कुरामा दुःख दिनुहुन्थ्यो, कुनै कुरामा चित्त बुझेन भने आफ्नो अभिभावकलाई कति सताउनुहुन्थ्यो।

तपाईँले यो कुरा महशुस गर्नु जरुरी हुन्छ कि, तपाईँको घरको मुलि मान्छे तपाईँ हुनुहुन्छ र तपाईँको परिवारको दुःख, कष्ट र बाध्यतालाई तपाईँले बुझ्नुपर्छ। यस्तो वचनले झन् कलिला बच्चाहरूको आत्मविश्वास टुटेर जान्छ।

२. “तैँले खाली किन गल्ती गर्छस्?”

बालबच्चाको अपरिपक्वतालाई दण्ड दिनु उचित हुँदैन। गल्ती त सबैले गर्छन्। गल्ती नगरी कसरी सिक्न सकिन्छ?सायद तपाईँको बच्चाले तपाईँलाई मन नपर्ने पढाइको क्षेत्रलाई अँगाल्न सक्छ, तपाइलाई मन नपर्ने काम गर्नसक्छ, अथवा तपाईँलाई मन नपर्ने कम्पनीमा काम गर्न सक्छ, तर त्यसको मतलब यो होइन कि तपाईँले उसको निर्णयलाई गलत भन्न पाउनुहुन्छ। आफ्नो बच्चालाई डोर्याउनु हरेक अभिभावकको जिम्मेवारी हुन्छ तर तपाईँकै विचारलाई पछ्याएर हिँड्नको लागि कर गर्नुहुँदैन।

३. “तँ तेरो दाई/दिदीजस्तो किन हुन सक्दैनस्?”

फेरि, यो पनि एउटा अव्यवहारीक तुलना हो। आफ्नै बच्चाहरूलाई दाँजो गरेर उनीहरूको सम्बन्धमा भेदभाव पैदा गर्ने काम नगर्नुहोस्। सबै व्यक्ति उस्तै हुँदैनन्, सबैको शोख एउटै हुँदैन अनि सबैको मनस्थिती पनि एउटै हुँदैन। यस्तो किसिमको वचनले गर्दा झन् उनीहरूले तपाईँलाई नकारात्मक दृष्टिले हेर्न सक्छन्। त्यसैले आफ्नो बालबच्चालाई कसैसँग पनि दाँजो नगर्नुहोस्।

४. “मलाई नसता, उता जा!”

हो, तपाईँका कैयौँ जिम्मेवारीहरू हुन सक्छन्, आफ्नो कामको बोझ हुन सक्छ, आफ्नै टेन्सन हुन सक्छन्। तर तपाईँका हरेक टेन्सनको अवगत तपाईँको बच्चालाई नहुन सक्छ। कहिलेकाहिँ तपाईँलाई एकान्तको खाँचो परेको हुन सक्छ, तर बच्चाहरूले यस्तो अवस्थाको गम्भीरतालाई बुझ्न सक्दैनन्। रिसको झोँकमा अधैर्य भएर “उता जा!” भन्दा उनीहरूले आफूलाई उपेक्षित र अपहेलित भएको महशुस गर्नसक्छन्। त्यसैले जस्तोसुकै नाजुक अवस्थामा पनि धैर्य भएर बोल्नु अभिभावकको प्रमुख दायित्व हुन जान्छ।

५. “आफैलाई देखेर लाज लाग्दैन तलाईँ?”

बच्चाहरूलाई यस्तो किसिमको वचनको वाणले प्रहार गर्नु साँच्ची नै ‘नराम्रो’ र ‘अधर्म’ हो। कुनै-कुनै बच्चाहरू अरूलाई सताउने, केहि कुराको मतलबै नगरी जथाभावी काम गर्ने हुन्छन्, यसको मतलब तपाईँले उसलाई गाली नै गर्नुपर्छ भन्ने होइन। उनीहरूलाई ‘राम्रो’ र ‘नराम्रो’को भिन्नता बुझाउन नरम अनि मिजासिलो उपाय पनि हुन्छ। कठोर व्यवहारले झन् उनीहरूलाई नराम्रो काम गर्ने उत्साह मिल्दछ।

६. “तँ जस्तो बच्चा हुनु भन्दा त अपुत भएकै वेश!”

आफ्नो बच्चाप्रति अत्याधिक रिस उठेको बेला प्रयोग गरिने क्रोधको भावुक वाण हो यो तर यसले बच्चाहरूमा कति नकारात्मक भावनाको सिर्जना गर्न सक्छ भनेर अभिभावकहरूले कहिल्यै सोँच्दैनन्। आफ्नै बच्चालाई यस्तो भन्नु सबैभन्दा निर्दयी व्यवहार हो भन्नुमा कुनै शङ्का छैन। जस्तो सुकै जटिल अवस्था होस्, आफ्नो बच्चालाई यस्तो भन्दा तपाईँ आफै पछुताउनुहुन्छ।

७. “तैँले त्यो साथीको सङ्गत नगर त!”

तपाईँ हामी (ठूला भनौदाहरू)ले साथी बनाउने बेला केहि सोँच्छौँ र? बच्चाहरू पनि उस्तै त हुन् नि! फरक यत्ति हो, हामीलाई के सही के गलत भन्ने बारे थोरबहुत ज्ञान हुन्छ, तर बच्चाहरूलाई त्यो कुराको कुनै मतलब हुँदैन। उनीहरू त साथी भनेपछि हुरुक्कै हुन्छन्। त्यसैले तपाईँले उनीहरूलाई छुट्टै नयाँ ‘राम्रो’ साथी बनाउन आदेश दिनुहुँदैन। बरु, के सही हो अनि के गलत हो भनेर बुद्धि दिन सक्नुहुन्छ, ताकी उनीहरू आफ्नै बुद्धिले राम्रो साथी चुन्न सकुन। बिभिन्न अनलाइनहरूबाट साभार

 

तपाईको प्रतिक्रिया