२० चैत्र, काठमाडौँ ।राजधानीमा जारी १९औं फ्लोरा एक्स्पो २०७२ को तेस्रो दिन सम्ममा ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलाको पहिलो दिन बिहिबार ७ लाख, दोस्रो दिन १५ लाख र तेस्रो दिन शनिबार २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जानकारी दिएको छ ।
मेलाको तेस्रो दिन सम्म ४९ हजार भन्दा बढीले मेलाअबलोकन गरेको फ्लोरिकल्चर एशोसिएशन नेपालका कार्यबाहक अध्यक्ष लिलिप बादेले जानकारी दिए । मेलामा २५ रुपैयाँ देखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने विभिन्न मौसमी फूल तथा बोट बिरुवाहरु कारोबारका लागि राखिएको छ ।
मेलामा पहिलो पटक सहभागी शिष्टता नर्सरीका सञ्चालक राजकृष्ण बजगाईँ मेलामा भएको कारोबारबाट आफू सन्तुष्ट रहेको बताउँदै शनिबार सबैभन्दा धेरै कारोबार गरेको बताउँछन् । आफ्नो स्टलबाट सबैभन्दा बढी पेलारगोनियम फूलको कारोबार भएको उनले बताए । आफ्नो स्टलमा ५ सय देखि १लाख ५० हजार रुपैयाँसम्म पर्ने १५ बर्ष पुरानो फाइकस केज बन्साइ रहेको जानकारी दिँदै ‘रोजमेट गार्डेनिङ’का सञ्चालक टिकाराम बुढाथोकीले आफ्नो स्टलबाट बन्साइको कारोबार सोचेभन्दा राम्रो भएको बताए ।
मेलामा १७ औं पटक भागलिएको दाहाद ट्रेडिङ कन्सर्नका सञ्चालक दुर्गा प्रसाद दाहालले कृषिमा प्रयोग हुने साना तथा आधुनिक हाते औजारको कारोबार राम्रो भएको बताउँदै कृषिमा प्रयोग हुने औजारका बारेमा जानकारी लिनेको सङ्ख्या बढ्दै गएको र आफ्नो स्टलबाट सकेसम्म जानकारी दिने गरेको बताउँछन् ।
‘स्वच्छवातावरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ बिहिबारदेखि सुरु मेलामा विभिन्न प्रकारका फूलहरु प्रदर्शनी राखिएको छ । मेला ६ वटा अफिसियल स्टल, प्रतियोगितात्मक प्रर्दशनीका लागि ३, ल्यान्ड स्केपिङका लागि ४ र व्यवसायिक स्टल ५१ गरी कुल ६४ वटा स्टल राखिएको छ ।नयापेजबाट