परापूर्वकालदेखि एउटा यस्तो शीला (पत्थर)को बारेमा हामीले सुन्दै आएका छौं, जसको स्पर्शले फलाम पनि सुन बन्छ । यो चमत्कारी शीलालाई ‘पारस शीला’ पनि भन्ने गरिन्छ । यसका बारेमा कैयन कहानी र किस्साहरु सुन्न पाइन्छ । ती मध्ये केही त सायद तपाईंले पनि सुन्नु भएको होला ।

तर यो कस्तो हुन्छ ? कहाँ पाइन्छ ? कसको साथमा छ ? त्यो भने कसैलाई जानकारी छैन । यद्यपी यही बहुमूल्य शीलाबारे एउटा यस्तो कहानी छ, जसले तपाईंलाई सपनामा पनि नसोचेको सुख अनुभूत गराउँछ ।

यस्तो छ कथा:

Paras-Stone
पारस पत्थरको काल्पनिक तस्बिर

परापूर्वकालमा आफ्नो गरिबीबाट वाक्क भएपछि एक ब्राह्मणले भगवान शिवजीको कठोर गरे । शिवजी प्रसन्न भएर उनलाई दर्शन दिए अनि भने, ‘बृन्दावनमा सनातन गोस्वामी बस्छन् । उनीसँग एउटा यस्तो पत्थर छ, जसले तिम्रो गरिबी दूर गरिदिन्छ ।’

फलामलाई छुवाउँदा पनि तत्काल  सुन बन्ने सो बहुमूल्य बहुमूल्य पत्थरबारे ती ब्राह्मणले पहिले नै सुनेका थिए । उनी खुसी हुँदै बृन्दावन पुगे । नभन्दै गोस्वामी आफ्नै कुटीमा रहेछन् । गोस्वामीको एक झल्को दर्शन पाउने बित्तिकै उनलाई लाग्यो कि, ‘यो मान्छेसँग त्यस्तो बहुमूल्य पथ्थर हुनै सक्दैन, भएको भएको भए यो थोत्रो धोती लगाएर बस्छ त !’ तैपनि शिवजीले दिएको बरदान हुनाले उनले ती स्वामीसँग पत्थर मागे ।

बहुमूल्य पत्थर माग्ने नवआगन्तुकलाई हेर्दै गोस्वामीले भने, ‘एकदिन म यमुना नदीमा स्नान गरेर फर्कँदै थिए, त्यति नै बेला एउटा यस्तो पत्थरसँग मेरो पैँताला ठोकियो, जुन निकैनै चम्किलो र विशिष्ट खालको थियो । मलाई यो सामान्य पत्थर होइन भन्ने लाग्यो । अनि त्यसलाई अब फेरि कुल्चिनु नपरोस् भनेर त्यहीँ नजिकै खाल्टो खनेर पुरिदिएँ । त्यसपछि सुद्ध हुनलाई पुन: स्नान गरेँ, अनि फर्किएँ । तिमीलाई चाहिएको भए त्यो पत्थर अझै पनि पुरेको ठाउँमा नै हुनसक्छ । गएर निकाल ।’

यतिभन्दै गोस्वामीले उनलाई पत्थर गाडेको ठाउँ पनि देखाइ दिए । ब्राह्मणले गएर पत्थर निकाले । तत्काल एउटा फलामको टुक्रोलाई छुवाए, नभन्दै सुन बन्यो । त्यसपछि उनले सोचे, ‘यो सुनको वास्तविक हकदार त गोस्वामी हो । तैपनि ऊ किन यसलाई आफूबाट टाढा पठाउन चाहन्छ ? पक्कै पनि उसलाई भगवानले यो भन्दा कुनै बहुमूल्य बस्तु दिएको हुनुपर्छ । त्यसैले त यसलाई झुक्किएर छोइँदा पनि पुन: स्नान गरेको !’

यति सोचेर ती ब्राह्मणले सो पत्थरलाई  त्यहीँ गाडिदिए । अनि प्राप्त भएको सुनलाई नदीमा फालेर गोस्वामीकोमा फर्किए । अनि उनले अझै बहुमूल्य बस्तुको लोभमा गोस्वामीको शिष्य बन्ने निश्चय गरे । तर, गोस्वामीको दिक्षाले उनको मनबाट लोभलालच हराएर गयो । उनले बल्ल बुझे धन र लोभ-लालच भनेको त केवल सारीरिक सुख-सयलका लागि रहेछ । यसले न त मनमा शान्ति नै दिने रहेछ, न त चैन नै । मानसिक शान्तिका लागि त मन पवित्र हुनुपर्ने रहेछ, लोभ-लालच नहुनु पर्ने रहेछ । त्यसपछि जिन्दगीमा उनले कहिले लोभलालच गरेनन् । आफूसँग भएको कुरामा सन्तुष्ट हुन थाले । अनि सुखपूर्वक जीवन व्यतित गरे ।

यो कथाको सार के हो भने तपाईंको साथमा जति धेरै धन हुन्छ, जिन्दगी त्यति नै तनावपूर्ण हुन्छ । भनिन्छ नि, ‘मानिसको जातलाई जति धन भएपनि पुग्दैन । त्योभन्दा बढी प्राप्तिका लागि मरिमेट्छ ।’ धन त केवल सारीरिक सुख-सयलका लागि हो । मरेपछि कसैले केही लैजाने होइन । त्यसैले आफूसँग जे छ, त्यसमा खुसी हुनुस् । श्रम गर्न नछोड्नुस्, लोभ-लालच नगर्नुस्, तपाईंको जिन्दगी सुखपूर्वक बित्नेछ । सबैभन्दा ठूलो सुख मानसिक शान्तिमा नै मिल्छ ।

 

तपाईको प्रतिक्रिया