२८ चैत्र, अमर पासमान, सिरहा। राजा सलहेश र कुशमा अर्थात फूलबारीकी मालिनीबीच प्रगाढ प्रेम थियो। तर राजा सलहेशको पारिवारिक कारणले एक अर्कालाई ह्दयदेखि मन पराएको भएपनि सलहेश र कुशमाबीच बिहे हुन सकेन। राजा सलहेशको प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको रुखमा फूलको माला भएर देखा पर्ने भनेपछि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको पहिलो दिन सो रुखमा मालिनी माला भएर देखा पर्ने गरेको विश्वास छ।
सलहेश फूलबारी लाहानको मेन चोकदेखि तीन किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गको दक्षिण भागमा रहेको छ। लाहान नगरपालिका वाड नम्बर ११ र २२ मा पर्ने सलहेश फूलबारी १५ बिघा भन्दा बढीको क्षेत्रफलमा रहेको छ। सो क्षेत्रमा बाक्लो जंगल र त्यो जंगलभित्रको बीच भागमा मालिनीको मन्दिर रहेको छ।