३० चैत्र, सप्तरी। प्रदेश नं. २ बाट मधेश जागरण अभियानको शुभारम्भ गर्नका लागि नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई बैशाख ३ गते सप्तरी आउँदै हुनुहुन्छ । नयाँ शक्ति नेपाल जिल्ला तदर्थ समिति सप्तरीले मंगलबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएको हो । आयोजित पत्रकार सम्मेलनमा जिल्ला तदर्थ समितिका संयोजक अनिल साहले प्रदेश नं. २ मा मधेश जागरण अभियानको शुभारम्भ सप्तरीबाटै केन्द्रिय संयोजक भट्टराईले गर्नुहुने जानकारी दिदै २ नम्बर प्रदेशका ८ वटै जिल्लामा पर्ने हुलाकी राजमार्गको निरिक्षण समेत गर्ने जानकारी दिनुभयो । उहाँले मधेश प्रति उठेका प्रश्न र मधेशी जनताको असन्तुष्टि, मागबारे डा.भट्टराईले मधेशी जनता समक्ष पुगेर जानकारी लिने बताउनुभयो । बैशाख ३ गते डा.भट्टराईले सप्तरीको भारदहमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्दै सदरमुकाम राजविराजमा आयोजना हुने सभालाई समेत सम्बोधन गरि हुलाकी राजमार्गको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमका लागि तदर्थ समितिका संयोजक अनिल साहको संयोजकत्वमा मुल आयोजक समिति, केन्द्रिय परिषद्का सदस्य छेदी रजकको संयोजकत्वमा आर्थिक समिति, केन्द्रिय परिषद्का सदस्य देव नारायण यादवको संयोजकत्वमा प्रचार प्रसार, व्यवस्थापन, मंच समिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो पत्रकार सम्मेलनमा नयाँ शक्ति नेपालका केन्द्रिय परिषद्का सदस्य डा.मनोज सिंह, छेदी रजक, कृष्ण प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया