belbari yuva new year work

०२ बैशाख, नरेन्द्र बस्नेत, बेलबारी । नयाँ बर्षको उमंग सँगै सबै आफनै धुनमा ब्यस्त थिए । अझ नयाँ बर्षका लागी युवायुबतीहरुले त महिनौ अघिदेखि योजना बनाएका नै हुन्छन । नयाँ ठाँऊ घुम्ने,खानपिन गर्ने,पार्टी भोजमा रमाउने इत्यादि तर मोरङका बेलबारीका युवायुबतीहरुले त्यो मान्यतालाई तोडदै समाज परिबर्तनका लागी नयाँ काम गरेर नयाँ बर्षको स्वागत गरेका छन ।बर्षैभरि नगरभित्रको सरसफाईका लागी खटने सरसफाई मजदुरको सम्मानका लागी भन्दै उनीहरुले बिहिबार बिहानै देखि उनीहरुसँगै सरसफाईमा जुटेका थिए । उनीहरुले बेलबारी नगरपालिकाको करिब १ किलोमिटर क्षेत्र भित्र सरसफाई मजदुरहरुसँगै सरसफाई गरेका छन । स्थानीय दि साइनिङ स्टार ग्रुपको संयोजनमा भएको कार्यक्रममा बेलबारी क्षेत्रभित्रका ५० जना बढी युवायुबतीहरुको सहभागिता रहेको थियो ।

युवायुवतीहरुलाई सहयोग गर्न शसस्त्र प्रहरी,इलाका प्रहरी कार्यलय बेलबारीको टोली लगायत सरसफाई सम्बन्धी काम गरिरहेको केही संस्थाका जिम्मेवार ब्यत्तिहरु समेत सहभागी भएका थिए । युवायुवतीहरुको सहयोगका लागी स्थानीय नोबेल अस्पतालले ग्लोब लगायतका सामाग्री बितरण गरेको थियो । यस किसिमको कामले सरसफाई मजदुरको हौसला बढनुका साथै नगरभित्रको सरसफाई गर्नु र नगर सफा राख्नु आफुहरुको पनि कर्तब्य भएको हुनाले यस किसिमको कार्यक्रम आयोजना गरिएको ग्रुपकी संयोजक शित्तल रायले बताईन । उनले यस कार्यमा युवाहरुले स्वस्फुर्त रुपमा सहभागिता जनाएको र आगामी दिनमा समेत यस किसिमका कार्यक्रम आयोजना गर्ने बताईन ।

नगरको सरसफाई गर्नु सबैको दायित्व भएको र यस्ता कार्यले मजदुरको हौसला मात्र नभएर त्यस क्षेत्रमा काम गर्ने सबैको हौसला बृद्धि हुने र समाजमा सकरात्मक प्रभाव पर्ने ग्रुपकी सदस्य सबिना दुलालले बताईन । कार्यक्रममा सहभागी युवायुवतीहरुले यस किसिमको काम गर्न पाउँदा खुसी लागेको र यस्ता कामले समाजमा हरेक कामको शुरुवात आफैले गर्नुपर्छ भन्ने पाठ समेत सिकाएको बतताएका छन ।

तपाईको प्रतिक्रिया