नवलपरासी, २ कार्तिक । नवलपरासीको दक्षिणी सीमावर्ती गाविस गेर्मीको कार्यालय भवनमा आगजनी गरिएको छ । आईतबार राति गरिएको आगजनीले कार्यालयको जिन्सी कोठामा क्षति पुगेको गाविस सचिव नन्दलाल कोहांरले जनाएका छन् । घटनास्थलबाट भूमिगत मधेशी सशस्त्र समूहको पर्चा फेला परेको छ ।
आगजनीले जिन्सीकोठामा रहेका महत्वपुर्ण कागजातहरु जलेर नष्ट भएको, कोठामा रहेका प्रिन्टर मेशिन, फोटोकपी मेशिन, फोटो क्यामेरा जलेर नष्ट भएको गाविस सचिव कोहांरको भनाइ छ । आ.व. ०७०/०७१ भन्दा अघिका सबै कागजात र गाविस कार्यालयले गरेको सिफारिश पत्रका प्रतिलिपीहरु जलेर नष्ट भएको उनले बताएका छन् ।
लेखा परिक्षण हुन बाँकी रहेका आ.व. ०७०/०७१ का आर्थिक कारोबारका कागजातहरु आफुसँगै राखेको हुनाले सुरक्षित रहेको गाविस सचिव कोहांरले बताए । उनले भने, “राति करिब साढे ३ बजेको समयमा आएका केही व्यक्तिहरुको समूहले ताला फोडेर जिन्सी कोठामा आगजनी गरेका हुन् ।” कोहांरले यस अघि उनलाई कसैको फोन, धम्की वा चेतावनी तथा चन्दा आदि कुनै प्रकारको दबाव नरेहेको स्पष्ट पारेका छन् ।साभार : हुलाकि न्युज