४ वैशाख, राजविराज । नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले मधेशवादी दलको संकिर्ण रबैयाका कारण आन्दोलन उपलब्धीविहिन बन्नपुगेकोले सबैलाई समेटेर साझा आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन् ।सप्तरीबाट मधेश जागरण अभियानको शुक्रवार शुभारम्भ गर्दै उनले यस्तो कुरा बताएका हुन् । मधेशवादी दलहरुको संकिण सोचले गर्दा आन्दोलन उलब्धिविहिन भएको तर्क गर्दै पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने ‘ आफ्नै संकिर्ण सोचका कारण केपी शर्मा ओली जस्ता पहाडि शासक प्रवृतीका पात्रहरुले पछारे र वाह्य शक्तिहरुले विश्वास गरेन, अन्ततः मधेश आन्दोलन तुहाउने काम भयो ।’
आफूहरु एक्लैले आन्दोलन गर्ने र आन्दोलनको पक्षमा आएकाहरुलाई दुस्मन ठान्ने प्रवृति मधेशवादी दलमा अझैं कायमै रहेको उनले टिप्पणी गरे । ‘अरुले आएर हाम्रो भाग खान्छ भन्ने सोचले गर्दा मधेश आन्दोलन कमजोर भयो’ उनले भने ‘मधेशवादी दलहरुले संकिर्ण सोच त्यागेर परिवर्तन पक्षधर सबै शक्तिहरुसँग सहकार्य गरेर साझा राष्ट्रिय आन्दोलन गर्नु जरुरी छ । मधेशवादी दलमा अझैं परिवर्तन नआएको दावी गर्दै डा. भट्टराईले भने ‘मधेशवादी दलले गर्न लागेको आन्दोलन उही शासकवर्गलाई छक्याउने, बिन्तीपत्र चढाउने र भित्रभित्रै उनीहरुसँग समझदारी बनाउने र अन्ततः आन्दोलन निष्क्रिय हुन्छ र मधेशको माग पनि पुरा हुँदैन ।’
विगतका गल्तीहरुबाट पाठ सिकेर मधेशवादी दलहरुले मधेशको मुद्दालाई पूर्णता दिन मधेशी, थारु, आदिवासी, जनजाती, खस आर्यलगायत तमाम शोषित उत्पीडितहरुसँग सहकार्य गरेर
सिंहदरवार केन्द्रित आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए । ओली जस्ता भुइँफुट्टे अहंकारी शासकहरुले अझैं पनि देशभक्त मधेशीलाई भारतीय भनेर भावनामा चोट पुर्याउने काम गरिरहेको डा. भट्टराईले बताए ।अहंकारवादी शासकवर्गका कारण मधेश खतरनाक र घातक खालको सोचबाट अगाडि बढिरहेको तर्क गर्दै उनले भने ‘शासकवर्गकै अहंकारका कारण अलग मधेश बनाउने माग बढिरहेको छ, त्यसैले यस्ता घातक र खतरनाक अवस्थाबाट देशलाई जोगाउन अविलम्ब मधेशको माग सम्बोधन हुनु जरुरी छ ।
मधेशीहरु नै नेपालको निर्माता भएको ऐतिहास प्रमाण रहेको प्रष्ट्याउँदै उनले भने ‘काठमाण्डौको तलाउको पानी निकालिएपछि घाँसे मैदान थियो, त्यो घाँसे मैदानमा मधेशका पशुपालक गोपालवंशी र महिसपालवंशीहरुले शासन गरेको इतिहास छ, त्यसैले नेपाल टुक्र्याउने सोच त्यागेर नेपालमाथि शासन गर्नकालागि संघर्ष गर्नुपर्दछ ।’सिंहदरबारमा बसेका अहंकारी शासकहरुलाई दवाब दिने ढङ्गले आन्दोलन गरे मात्र मधेशको माग पुरा हुने तथा त्यसकालागि नयाँ शक्ति अभियान तत्पर रहेको संयोजक डा. भट्टराईले प्रतिवद्धता व्यक्त गरे ।
माओवादी जनयुद्ध, मधेश आन्दोलनलगायतका संघर्षहरुको उपलब्धिलाई संस्थागत गर्न संविधान जारी गरेको र अपूर्ण संविधानमा बाँकी उपलब्धिहरुलाई संस्थागत गर्न संघर्ष गर्नुपर्नेमा एनेकपा माओवादी पार्टीले केही मन्त्री पदको लोभमा समर्पण गरेको आरोप लगाउँदै उनले भने ‘प्रचण्डजीले त जनयुद्धकालीन मुद्दाहरु बिर्सेर धर्मनिरपेक्षता विरोधी कमल थापा, संघीयता विरोधी चित्रबहादुर केसी, मधेश विरोधी केपी शर्मा ओलीसँग मन्त्री पदकालागि सहकार्य गर्नुभयो ।
अभियानका जिल्ला संयोजक अरुण कुमार साह ‘अनिल’को अध्यक्षतामा आयोजित कार्यक्रममा अभियानका नेताहरु रामचन्द्र झा, महेन्द्र पासवान, रामरिझन यादवलगायतले सम्बोधन गरेका छन् । कार्यक्रम सञ्चालन अभियानका केन्द्रीय सदस्य छेदी रजकले गरेका थिए । सोही कार्यक्रममा मधेश आन्दोलनका शहिद परिवारलाई सम्मान गरिएको छ ।डा. भट्टराई हुलाकी मार्ग भएर सप्तरी हुँदै पर्सासम्म पुग्ने तथा त्यस क्रममा विभिन्न स्थानहरुमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि शुक्रवारै सप्तरीको पोर्ताहाको कंलालिनी माध्यमिक विद्यालयमा आयोजित एक समारोहका बीच मधेश जागरण अभियानको सम्बोधन गरेका छन् ।न्युजटुडेबाट