इनरुवा बैशाख १६ / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अवको आन्दोलन सरकारको रवैयामा निर्भर हुने बताएका छन् ।
मधेशका जायज माग सम्बोधन विना आन्दोलन नटुङ्गिने जिकिर गर्दै यादवले वर्तमान सरकारको आन्दोलन प्रतिको रवैया अनुरुप अबको आन्दोलन अघि बढ्ने धारणा व्यक्त गरे ।
आन्दोलनबारे समिक्षा र रणनीति बनाउन पुर्वी दौडाहामा निस्केको बताउने फोरम अध्यक्ष यादवले यस पटकको आन्दोलनले मधेशी जनताका माग पूर्ण रुपमा स्थापित गराउने दावी गरेका हुन् ।
यादवले वर्तमान ओली सरकार धरमर स्थितीमा पुगिसकेको बताउँदै निर्णायक धक्का दिन आफुहरु तयार रहेको बताए ।
सुनसरीको भोक्राहामा आयोजित एक कार्यक्रममा हरगोविन्द यादव सहित विभिन्न पार्टीमा आवद्ध रही मधेश आन्दोलनमा समर्थन जनाउँदै आएका १०० बढी नेता तथा कार्यकर्ता औपचारिक रुपमा फोरम नेपालमा प्रवेश गरेका थिए ।
कार्यकर्ताहरुलाई सम्बोधन गर्दै यादवले निर्णायक आन्दोलन सामू सरकारको हेपाहा प्रवृति धेर दिन नटिक्ने भन्दै शान्तिपूर्ण आन्दोलनमा दमन भए प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन समेत दिए । यादवले आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने भएकाले दमन गरिने ससक्त प्रतिकारकालागि आफुहरु पूर्ण रुपमा तयार रहेको स्पष्ट पारे । भगिरथ खत्वेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेशी नेताहरु रामविलास यादव, एसएन मेहता, गुलाब शर्मा लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
इनरुवामा गठबन्धनले आन्दोलनको पूर्व तालिका अनुरुप शुक्रबार सरकारी कार्यालयमा कालो भण्डा गाड्ने तयारी गरिरहँदा सोही दिन प्रधानमंत्री केपी शर्मा ओलीको समेत इनरुवा स्थित जिल्ला पाटी कार्यालयमा कार्यकर्ता भेटघाटको कार्यक्रम तय भएकाले सुनसरी प्रशासनले इनरुवा आसपासको सुरक्षा व्यवस्था कडा पार्ने संकेत यसअघिनै दिइसकेको छ ।