
१७ वैशाख, सङ्खुवासभा / महोत्सवमा विभिन्न जातजातीको साँस्कृतिक झाँकी, चैनपुरे करुवा, अल्लोका सामग्रीहरु लगायतका स्थानीय उत्पादनहरुको प्रदर्शनी राखिएको छ । कार्यक्रममा नेकपा एमालेका बरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधबकुमार नेपाल प्रमुख अतिथी रहनुभएको थियो । करिब दुई हजार जनाको उपस्थितीमा उद्घाटन गरिएको महोत्सवमा कम्तीमा ५० लाख रुपैयाँको कारोबार हुने अपेक्षा राखिएको महोत्सव ब्यावस्थापन समितिका प्रबक्ता गोविन्दबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय पर्यटनलाई बिकास गर्न, स्थानीय संस्कृतिको संरक्षण गर्न र जलजला, वाना र स्याबुनलाई पर्यटन गन्तव्यको रुपमा बिकास गरी सम्मुनत वाना र संखुवासभा बनाउन महोत्सवले सहयोग पुराउने आयोजकले जनाएको छ । वाना क्षेत्रमा रहेका पुर्वकै चर्चित नागेश्वर, जौवारी, महादेव गुफा, निमन गडी, गुप्तेश्वर महादेव, सुकेलेश्वर महादेव, घोरे झरना, हनुमान बेसी र अकर्षक पोखरीहरु, स्थानीय उत्पादन रुद्राक्ष, अलैची, जातिजातिका खानाका परिकार मुख्य महोत्सवका आकर्षण रहेको आयोजक समितिका प्रबक्ता श्रेष्ठले बताउनुभयो ।
नेपाल एकिकरण देखिनै चर्चाको शिखरमा रहेको निमन गडी, हनुमानले छेला हानेको ढुङगा रहेको स्थान, मानामुरी धान उत्पादन हुने हनुमान बेसी, नागेश्वर गुफा, जस्ता स्थानलाई चर्चामा ल्याई यसको बिकास गर्नु महोत्सवको अर्को उदेश्य रहेको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा ककारहरुको प्रस्तुती पनि सर्वप्रिय थियो । त्यस्तै महोत्सवमा चिर्चित हास्यकलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल जिग्री, महादेव त्रिपाठी जादुगर, गायक कमल खत्री, तुलसी पराजुली, नविन खड्का र पुस्कता खड्काको संगितीक प्रस्तुती रह्यो । कलाकारहरुले आ आफ्नो प्रस्तुतीबाट हजारौँलाई हसाएका र नचाएका थिए ।