२७ वैशाख, विराटनगर । विराटनगर विद्युत् केन्द्रले २५ दिनमा रु छ लाख ५० हजारभन्दा बढी विद्युतीय सामग्री जफत गर्नुका साथै जरिवानाबापत रु दुई लाख ५० हजार असुली गरेको छ । सो केन्द्रले वैशाख १ गतेदेखि सुरु गरेको चुहावट नियन्त्रण विशेष अभियानअन्तर्गत विराटनगर र त्यस आसपासका ग्रामीण क्षेत्रमा अवैध ढङ्गले विद्युत् चोरी गरेको पाइएपछि सो मूल्य बराबरका सामग्री जफत गरिएको हो ।

यस अभियानअन्तर्गत आजसम्ममा ६१ वटा टोली परिचालन गरिएको छ भने विद्युत् चोरी गर्ने २७ जनालाई कारबाही गरिएको वितरण केन्द्रका प्रमुख शम्भु कुसियैत यादवले जानकारी दिनुभयो । अभियानका क्रममा विद्युतीय पङ्खा नौवटा, टेलिभिजन १५, डिक्स एन्टिना १५, विद्युतीय मोटर ३७ थान, फोटोकपी मेसिन एक, रेफ्रिजेरेटर दुई र पाइप ५० मिटरका साथै दुई हजार मिटर विद्युतीय तार बरामद गरिएको वितरण केन्द्रले जनाएको छ ।

अभियानअन्तर्गत रु १० हजार भन्दा बढी बक्यौता महसुल नतिरेका १८१ ग्राहकको लाइन काटिएको र ती ग्राहकबाट रु ५३ लाख ५० हजार महसुल उठाउन बाँकी रहेकामा १०६ जनाले बक्यौता महसुल तिरेर पुनः जडान गराउँदा रु २८ लाख ३० हजार राजस्व सङ्कलन भएको यादवले जानकारी दिनुभयो ।

थ्रिफेज लाइन लिएका १०० उद्योग तथा १९ कर्मचारीको निवासमा विद्युत् मिटरमा सिल गरिएको तथा ४०० वटा बन्द भएका मिटर परिवर्तन गरी नयाँ जडान गरिएको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया