१ जेठ, काठमाडौँ । राष्ट्राध्यक्षदेखि सरकारी कर्मचारीसम्मले सरकारी खर्चमा हवाई माध्यमबाट गर्ने भ्रमणमा नेपाल वायुसेवा निगमको जहाज प्रयोगलाई अनिवार्य गर्नुपर्ने सांसदहरुले माग गरेका छन् ।सांसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सांसदहरुले सरकारी खर्चमा हुने भ्रमणमा सरकारी वायुसेवा सञ्चालनमा रहेका ठाउँमा जाँदा त्यसको प्रयोग अनिवार्य हुनेगरी नीति तथा योजना बनाउनुपर्नेमा सुझाव दिएका हुन् ।

सांसद बलबहादुर केसीले केही समयअघि प्रधानमन्त्रीले चीन भ्रमणको क्रममा सरकारी वायुसेवा प्रयोग नगरी निजी वायुसेवा प्रयोग गर्नु गलत भएको टिप्पणी गर्दै सरकारी वायुसेवा अनिवार्य गर्ने गरी प्रावधान ल्याउनुपर्ने सझुाव दिनुभयो ।

सांसद जितेन्द्रनारायण देवले भारतमा सरकारी निकायले ‘एअर इण्डिया’को उडान गर्नुपर्ने अनिवार्य प्रावधान रहेको उदाहरण दिँदै नेपालमा पनि त्यो आवश्यक रहेकोमा जोड दिनुभयो ।

सांसद कमला शर्माले सरकारी भ्रमणमा नेपाल वायुसेवाको जहाज हुँदाहुँदै अन्य जहाज प्रयोग गर्नु उपयुक्त नभएको टिप्पणी गर्दै त्यसको कारणको समेत खोजी हुनपर्ने धारणा राख्नुभयो ।

सांसदहरुले नेपाल वायुसेवा निगमको जहाज उडानको तोकिएकै समयमा हुनुपर्ने, सेवा र सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया