thakas-bhela

काठमाडौं, ९ कार्तिक । नवलपरासीमा जारी थारु कल्याणकारिणी सभाको दुई दिने राष्ट्रिय भेलाको क्रममा सहभागीहरुले थारु मधेशी एकतामा जोड दिएका छन् । आन्दोलनका सम्पूर्ण सहभागीले अबको आन्दोलन सीमानाकामा केन्द्रित हुनुपर्ने भन्दै थारु र मधेशी एकभएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

बन्द सत्रमा रुपन्देहीकी सरिता चौधरीले अबको आन्दोलन नाका र राजमार्गकेन्द्रित हुनुपर्ने र यसका लागि थारु र मधेशीको एकता अपरिहार्य रहेको बताइन् । त्यस्तै कपिलवस्तुका प्रतिनिधि बोधराज चौधरीले पनि थारु मधेशी मिलेर आन्दोलन थप सशक्त पार्नुपर्ने धारणा राखे । उनले सरकारमा सहभागी हुने थारु सांसदलाई वार्ता समितिमा राख्न नहुने बताए । आन्दोलन र सरकार दुबैको नेतृत्व एउटैले गर्न नहुने उनको धारणा थियो ।

त्यस्तै अमेरिकाका प्रतिनिधि महावीर चौधरीले काठमाडौंलाई पूर्णरुपमा सुख्खा नबनाएसम्म थारु मधेशीको मागप्रति सरकार गम्भीर नहुने बताए । यसका लागि नाकाबन्दी र राजमार्ग पूर्णरुपले बन्द गर्नुपर्ने उनको भनाई थियो ।

भेलाका सहभागीहरुले सरकारमा गएका थारु सांसदहरुको चर्को विरोध गरेका छन् । आन्दोलनको स्वरुप र रणनीति तय गर्न डाकिएको भेलामा २४ जिल्ला र दुई विदेश च्याप्टरका प्रतिनिधिसहित १ सय ७४ जनाको सहभागिता छ । सहभागीहरुले सरकारमा सहभागी थारु नेताहरुलाई थारुवान/थरुहट संयुक्त संघर्ष समितिमा राख्न नहुने बताएका छन् ।

थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलामा थारु कल्याणकारिणी सभाका अध्यक्ष एवं थारुवान थरुहट संयुक्त संघर्ष समितिका संयोजक धनिराम चौधरीको राजीनामा माग गरिएको छ । बाँकेका प्रतिनिधि गणेश थारुले सभाको विशेष अधिवेशन बोलाएर अध्यक्ष चौधरीलाई हटाउनुपर्ने माग गरे ।

‘आन्दोलनमा नआउने केन्द्रीय अध्यक्षज्यूले राजीनामा दिनुपर्छ,’ थारुले भने, ‘विशेष अधिवेशन बोलाएर भए पनि उहाँलाई हटाउनुपर्छ ।’हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया