Kul-Bahadur-Gurung

९ कात्तिक, काठमाडौं । सभामुखमा एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई भोट हाल्दै गर्दा नेपाली कांग्रेसका नेताहरुले एमाओवादीको पत्र देखाउँदै पार्टीको बैठकमा भनेका थिए-राष्ट्रपतिमा समझदारी हुन सक्छ ।

तर, सहमतिको समय सकिएर बहुमतीय प्रक्रिया सुरु हुँदा पनि प्रमुख दलहरुबीच कुनै सहमति भएको छैन । एमालेले त विद्या भण्डारीलाई उम्मेदवार तोकेर कांग्रेसले राष्ट्रपति नपाउने प्रष्ट पारिसकेको छ ।

सोमबार एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यससँगै कांग्रेसलाई राष्ट्रपति दिने सम्भावना धेरै हदसम्म सकिएको एमाले सचिव योगेश भट्टराईले बताए ।

प्रधानमन्त्री निर्वाचनसँगै एमालेसँगको सहकार्य तोडेको कांग्रेसले सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । तर, सभामुख र उपसभामुख चुनावमा उसले सत्तारुढ दलका उम्मेदवारलाई समर्थन गर्‍यो ।

कांग्रेसले सभामुख र उपसभामुखमा उम्मेदवार नउठाउदा राष्ट्रपतिमा पनि सहमति गर्न सत्तारुढ दलहरुलाई केही दबाव परेको थियो । एमाओवादी नेतृत्वदेखि एमालेभित्रैपनि कांग्रेसलाई राष्ट्रपति दिन सकारात्मक वातावरण बनेको थियो ।

तर, यो बीचमा पार्टी नेतृत्वले जुन रुपमा रानजीतिक सम्वाद गर्नु पर्ने हो त्यो नगरेको एक कांग्रेस नेताले बताए । उनले भने-राजनीतिमा लाज मान्नु हुँदैनथ्यो तर हाम्रा नेताले लाज माने । हामीले आज एकपटक फेरि गिरिजाबाबुलाई सम्झिएका छौं ।’

तत्कालीन कांग्रेस सभापति कोइरालाले हार्ने देखेपछि कांग्रेसले रामवरण यादवलाई राष्ट्रपति उम्मेदवार बनायो । रातारात बहुमत जुटाउन कोइराला सफल भए र सत्तारुढ दलकै मत पाएर यादव राष्ट्रपति भए ।

तर, यो पटक एमाओवादी र एमालेको एउटा तप्का सकारात्मक हुँदा पनि कांग्रेस नेेतृत्व सफल देखिएन । उसले यसबीचमा एमालेले बैठकबाटै ग्रिन सिग्नल पठाउदा समेत त्यो संकेत बुझेन ।

अब आफूहरुले सभामुखमा एमाओवादी उम्मेदवारलाई किन भोट हालेेको भनेर नेतृत्वलाई प्रश्न गर्ने एक केन्द्रीय सदस्यले बताए ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया