old age

७ जेठ, नरेन्द्र बस्नेत मोरंग । सरकारले बृद्धाबृद्धाका लागी बितरण गर्दै आएको मासिक भत्ता ५ महिना देखि नपाएपछि मोरङका बृद्धबृद्धाहरु अन्यौलमा पर्न थालेका छन ।धेरैमा त भत्ता रोकिएको समेत भ्रम पर्न थालेको छ । २०७२ पौष देखि बृद्धबृद्धाहरुले भत्ता पाउन सकेका छैनन । भत्ताकै आशमा कठिन जिवनयापन गरिरहेका बृद्धबृद्धाका लागी बिहान बेलुका हातमुख जोर्न देखी एकसरो कपडा फेर्न समेत कठिन भएको बृद्धबृद्धाहरु बताउँछन । मासिक रुपमा आउने भत्ता आउन छोडेपछि सरकारले भत्ता नै पो कटौति गरेको हो की भन्ने चिन्ताले समेत बृद्धबृद्धालाई पिरोल्न थालेको छ । प्रत्येक महिना पाउने भत्ता ५ महिना सम्म पनि नआउँदा केहि बृद्धबृद्धाको हात मुख जोड्ने बाटो हराएको छ ।
नेकपा एमालेको ९ महिने सरकारको पालामा तत्कालीन प्रधामन्त्री भरतमोहन अधिकारी नेतृत्वको सरकारले बृद्धबृद्धाका मासिक भत्ता दिने निर्णय गरेको थियो । नौ महिना नबित्दै त्यो सरकार ढलेपनि त्यहि सरकारले ल्याएका केहि नयाँ कार्यक्रमले अहिले सम्म निरन्तरता पाईरहेको छ । नौ महिने सरकारले ल्याएका बृद्धभत्ता तथा आफनो गाँउ आफै बनाउँ, जस्ता कार्यक्रमले अहिले सम्म पनि निरन्तरता पाईरहेका छन ।

पछिल्लो समय बृद्धबृद्धाका लागी खर्च अभाव भएपछि सम्झने भनेको सरकार नै हो । कहिले भत्ता पाईएला र खर्च टारौँला भन्ने आशामा उनीहरु बसिरहेका छन । कहिले भत्ता आउँछ भन्दै बाटोमा बसेर चिनेजानेका,जान्ने बुझनेलाई सोध्ने गरेको बेलबारी ४ की ७५ बर्षीय दयावती उरावले बताईन । यतिका महिना सम्म भत्ता नआँउदा भत्ता रोकिएको हो की भन्ने चिन्ता लागेको छ ,भत्ता रोकियो भने त बाँच्नै गाहे हुन्छ उनले भनिन । उनीजस्तै जिल्लाका हजारौँ बृद्धबृद्धा,एकल महिला,शारिरिक अशत्त र अपांगहरुले समेत भत्ता नपाएको गुनासो गरेका छन । भत्ता नआएपछि सरकारी कार्यालयमा समेत कहिले भत्ता आऊछ भन्दै बस्नेको भिड लाग्ने गरेको छ ।

बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले दैनिक दश पन्ध्र जना बुबाआमा कार्यलय खुल्नुभन्दा अगाडिनै आएर कार्यलयमा बस्ने गरेको र भत्ताको बारेमा जिज्ञासा राख्ने गरेको बताए । जिल्ला बिकास समिति मोरङका अनुसार जिल्लामा ६० हजार भन्दा वढीले बृद्धभत्ता खाने गरेका छन ।एकल महिला, बृद्धभत्ता दलित बृद्धभत्ता, अपांग बृद्धभत्ता,दलित बालबालिका भत्ता बिगत केहि महिना देखी नआएको जिबिस मोरङले जनाएको छ । मोरङ सहित केहि जिल्लामा अनलाईन मार्फत नाम दर्ता गरे पछि मात्रै भत्ता बितरण गर्ने निर्देशिका आएकाले ढिलाई भएको जिबिस मोरङका फोकल पर्सन राजन श्रेष्ठले बताए । एक हप्ता भित्रमा जिल्लाका सबै नगरपालिका र गाबिसमा भत्ता बाँडिने समेत उनले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया