काठमाडौ । छिमेकी मुलुक चीनका सञ्चारमन्त्री र संस्कृतिमन्त्रीको नेपाल भ्रमणपछि चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख एडमिरल सुन चियान्क्वो तीनदिने नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपाली सेनाको निमन्त्रणामा जेठ २४ गते काठमाडौं आइपुग्ने चिनियाँ सेनाका उपप्रमुखले आएकै दिन रक्षामन्त्री भीम रावल र रक्षासचिव महेश दाहालसँग भेटवार्ता गर्नेछन् । दुवै पक्षले शिष्टाचार भ्रमण भने पनि यो भ्रमण दुईपक्षीय सैनिक सहायतामा केन्द्रित हुनेछ ।
नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दुई देशका सेनाबीच आपसी हित अभिवृद्धि गर्ने अभिप्रायले भ्रमण तय भएको बताए । तत्कालीन सेनापति छत्रमानसिंह गुरुङका पालामा चिनियाँ सेनाका तत्कालीन प्रमुख जनरल छन वांग्देपछि यो चिनियाँ सेनाका तर्फबाट भएको अर्को उच्चस्तरीय भ्रमण हो ।

वर्तमान सरकार यथावत् रहेको अवस्थामा आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने तयारी गरिरहेको सन्देश राजनीतिक क्षेत्रमा प्रवाह भइरहँदा सैनिक उच्च अधिकारीको यो भ्रमणलाई त्यसकै पूर्वतयारीका रूपमा लिइएको छ । आजको अन्नपुर्णमा समाचार छ।

तपाईको प्रतिक्रिया