इनरुवा जेठ २२/जेफाले डाँडाबाट चिहाउँदा हरियो बिछ्यौना ओछ्याएजस्तो देखियो चिया बगान। विशुद्ध हावाको वहाबले शरीरको अङ्ग–अङ्ग नै स्फ्रुटित भयो। शरीर डाँडामा भएपनि मन भने चियाबारीमा झुमिरहेको थियो। डा“डामाथिबाट हेरे हाबेचौर वस्ती सुन्दर लाग्यो। त्यसको अलि पर्तिर पनि चियाबारी। झनै नजर डुलाउँदै गए लमतन्न तराईका हरिया फाँटहरु। पल्लोपट्टीको डाँडाबाट पाथिभरा माताले आशिर्वाद प्रदान गरिरहेकी जस्तो लाग्ने। उत्तर हेर्दा बिशाल हिमश्रृंखला मुस्कुराउँदै स्वागत गरिरहेको देखिने।
मकालु, कुम्भकर्णलगायतका हिमालहरु मज्जाले देखियो। जेफाले यति सुन्दर पहाडी क्षेत्र। तर, पनि तराईको मोरङमा पर्ने। सिंहदेवी गाउँ विकास समितिअन्तर्गत पर्ने जेफालेमा सबेरै सूर्योदयको आनन्द लिन सकिन्छ। तर, त्यसका लागि भने दिन उघ्रिनु पर्दछ। तराईमा प्रचण्ड गर्मी हु“दा पनि जेफालेमा बाक्लो कपडा लगाउनु पर्दछ। मुस्ताङ जत्तिकै हावा चल्दछ त्यहाँ। बिहान र बेलुका हावाको बेगले शरीर नै उडाउँला कि भन्ने पिर। पर्यटकीय गन्तव्यको रुपमा चर्चा बटुल्न थालेको छ जेफालेले। धरानबाट करिब १६ किलो मिटर उत्तरतर्फ भेडेटार छ। भेडेटार पूर्वको पर्यटकीयस्थलको रुपमा स्थापित भइसकेको छ। त्यहा“बाट नाम्जे, डाँडाबजार, राजारानी, मौनाबुधुक पार गर्दै मोरङको सिंहदेवी सिम्मुवा आइपुगिन्छ।
सिम्मुवाबाट पैदल जाने हो भने २५ मिनेटमा पुग्न सकिन्छ हाबेचौर वस्ती। बाटो अलिक साघुँरो भएकाले ठूला बसहरु पुग्नलाई अप्ठ्यारो पर्दछ। तर, साना गाडीहरु भने सजिलै वस्तीसम्म नै पुग्छन्। पर्यटन मौलाउनका लागि गन्तव्यसम्म पुग्न सहज यातायातको आवश्यकता पर्दछ। स्थानीयहरु वस्तीसम्म बाटो बनाउन लागि परेका छन्। पर्यटन दिनप्रतिदिन परिमार्जित हुने क्षेत्र हो। धार्मिक यात्राबाट सुरु भएको पर्यटन। आधुनिक युगसम्म आइपुग्दा मनोरञ्जनका साथै सिकाइको रुपमा लिन थालिएको छ। घुम्नकै लागि समय र साधन छुट्याउने गरिन्छ। अहिले सबैजना द्रुत गतिमा कार्य गर्न रुचाउँछन्। केही समय आरामको आवश्यकता पर्दछ। मानिसलाई सधैंभन्दा फरकपनको आवश्यकता हुन थालेको छ। मानिसहरु दोहोर्याएर गइरहने गन्तव्यभन्दा नयाँ स्थानको खोजी गर्छन्। पूर्वमा पनि पर्यटनको लहर चल्न थालेको छ। यसैले आफ्नो वरिपरिको स्थानलाई पर्यटन क्षेत्र बनाउन लागि पर्नेको जमात बढ्दो छ। भर्खरै पर्यटकीय गन्तव्यको रुपमा परिचित हुँदैछ जेफाले। तस्विर- तेजन खड्काको फेसबुकबाट