Hepatitis_C_Disease_nepal

सरकारले ‘हेपाटाइटिस सी’ का बिरामीको उपचार निःशुल्क गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। समयमै उपचार गरे हेपाटाइटिस सी निको हुने निष्कर्ष निकाल्दै सरकारले निःशुल्क उपचार गर्ने तयारी गरेको हो। यसका लागि स्वास्थ्य मन्त्रालयले सम्बन्धित चिकित्सक र सरोकारवालासँग छलफल गरिरहेको छ।

 हेपाटाइटिस सीको उपचारमा एकरूपता ल्याउन र विशेषज्ञ चिकित्सकबाट मात्रै उपचार गराउने पद्धतिको विकास गर्न सरकारले राष्ट्रिय उपचार निर्देशिका पनि आइतबार सार्वजनिक गर्ने भएको छ। यससँगै हेपाटाइटिस सीको उपचार निःशुल्क गर्ने तयारी गरिएको हो। वीर अस्पतालका कलेजो रोग विशेषज्ञ एवं उक्त निर्देशिका तयार पार्न गठित समितिका सदस्य डा. दिलीप शर्माले हेपाटाइटिस सी भएका बिरामीको निःशुल्क उपचार गर्न सरकारले चिकित्सक, दातृ निकायलगायतसँग छलफल गरिरहेको बताए।

आर्थिक अभावले कयौं बिरामीले समयमै उपचार नपाउँदा हेपाटाइटिस बिग्रिएर कलेजो कडा हुने, क्यान्सर हुनेलगायत समस्या उत्पन्न भएर ज्यान गुमाउने गरेका छन्। कतिपयलाई यसबारे जानकारीसमेत छैन। सरकारले हेपाटाइटिसको उपचार निःशुल्क गरेमा एक बिरामीको उपचारका लागि एक लाख २० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ। सुषुप्त हत्याराका रूपमा चिनिएको हेपाटाइटिस सीबाट नेपालमा करिब एक लाख ५० हजार मानिस ग्रसित भएको अनुमान छ। हेपाटाइटिसका पाँच प्रकारमध्ये सी सबैभन्दा घातक मानिन्छ।

रगतजन्य पदार्थबाट एकअर्कामा सर्ने हेपाटाइटिस सी हुँदा सुरुमा कुनै लक्षण देखिँदैन। प्रभावकारी एन्टिभाइरल औषधिको माध्यमले यो रोग निको पार्न सकिन्छ। नेपालमा हेपाटाइटिस सीका बिरामी बढ्दै गएका छन्। विशेषगरी विदेश जानेहरूले स्वास्थ्य जाँच गर्दा हेपाटाइटिस सी पुष्टि भएपछि अस्पताल धाउनेको संख्या बाक्लिँदै गएको छ। ‘हेपाटाइटिस सी सम्बन्धित चिकित्सकबाट समयमै उपचार गरे निको हुने विज्ञानले नै पुष्टि गरिसकेको छ’, शर्माले भने, ‘यो करिब तीनदेखि ६ महिनासम्म औषधि खायो भने निको हुन्छ। तर यसका लागि बिरामी र चिकित्सक दुवैले विशेष ध्यान दिनुपर्छ।’

हेपाटाइटिस सी बिग्रिएर क्यान्सर भएका बिरामीलाई सरकारले यसअघि नै एक लाख रुपैयाँबराबरको उपचार निःशुल्क गरिसकेको छ। क्यान्सर भइसकेपछि उपचारमा लाखौं रकम खर्चे पनि निको नहुने भएकाले त्यसअघि नै सरकारले निःशुल्क उपचार गर्नुपर्ने भन्दै चिकित्सकले लामो समयदेखि आवाज उठाउँदै आएका थिए। विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्व एसियाका नेपालसहित ११ मुलुकमा हेपाटाइटिस सीका बिरामी बढिरहेकाले यसको रोकथामका लागि समयमै ठोष कदम चाल्नुपर्ने आवाज उठाइरहेको छ।रगत परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ। आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया