३१ जेठ, काठमाण्डु । दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार २३ र २४ गते स्थानीय रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ ।जरायलको ६८औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावासको आयोजनामा हुने महोत्सवमा स्वदेशी र अन्तर्राष्ट्रिय पुरस्कार जितेका छ चलचित्र प्रदर्शन गरिनेछन् ।

प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ खालीपन भर, ‘ब्यान्डस् भिजिट’ ब्यान्डको भ्रमण, ‘फरेन सिस्टर’ विदेशी चेली र ‘द डिस्ट्यान्स्’ दूरी तथा वृत्तचित्रमा ‘डल्फिन ब्वाइ’ डल्फिन केटो र ‘गोर्खाज डटर इन इजरायल’ इजरायलमा गोर्खालीकी छोरी छन् ।

पत्रकार सम्मेलनमा इजरायली चलचित्र निर्माता तथा निर्देशक डान वोलम्यानले इजरायल आप्रवासीको देश भएकाले त्यहाँ विविधता रहेको जानकारी दिँदै चलचित्र हेरेर विश्वमै यहुदी बाहुल्य एक मात्र समाज र संसारकै पुरानामध्येको एक हिब्रु भाषाबारे ज्ञान लिन सकिने बताए।

भर्खरै सम्पन्न मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन आउनुभएका उनले ‘छाया’, ‘कालो पोथी’लगायत केही चलचित्र हेरेको बताउँदै यहाँको विविधतायुक्त समाजबाट आफू प्रभावित भएको बताए ।

महोत्सवमा प्रदर्शन गरिनेमध्ये दुई चलचित्र ‘फरेन सिस्टर’ र ‘द डिस्ट्यान्स्’ निर्देशक बोलम्यानले निर्माण गरेका चलचित्र हुन् । त्यस्तै, ‘गोर्खाज डटर इन इजरायल’ त्यहीँका चलचित्रकर्मीद्वारा इजरायलमा काम गर्ने नेपाली दिदीबहिनीका बारेमा निर्माण गरिएको वृत्तचित्र हो । इजरायलमा रोजगारीका लागि जानुअघि यो चलचित्र हेरेमा फाइदा हुने बताइएको छ ।

फिल्म सोसाइटीका अध्यक्ष तथा कलाकार कृष्ण मल्लले विगतमा इजरायलमा थोरै लगानीमा पनि राम्रा चलचित्र बन्ने गरेको बताउँदै सोबाट नेपाली चलचित्र उद्योगले प्रेरणा लिनुपर्ने धारणा राखे ।काठमांडौटुडेबाट

तपाईको प्रतिक्रिया