sorry-mafi-tulanarayan sah dom saptari

३ असार। सामाजिक संजालमा विगत केही दिनदेखि मधेशी अधिकारकर्मीहरुले माफी अभियान सञ्चालन गरिरहेका छन् । माफी अभियान खासगरी दलित समुदायलाई लक्षित गरिएको देखिन्छ । गहिरिएर विचार गर्दा यो अभियान भावनात्मक र आदर्शवादी देखिन्छ ।

यस अभियानलाई हिन्दु समाजका कथित उच्च जातका युवा पिढी जो आफै सचेत तथा चेतयुक्त भएर दलित समुदायको प्रत्यक्ष उत्पीडक नभएको तर आफूले प्रतिनिधित्व गरेको समुदायको सामाजिक, राजनीतिक, आर्थिक तथा सांस्कृतिक लाभको हिस्सेदार तथा प्रिभिलेज्ड पक्कै हो । ऐतिहासिक रुपमा प्रणालीगत विभेदको एउटा हिस्सा भएको महसुस गरेर माफी अभियान सञ्चालन गर्नु एक हदसम्म ठिकै होला । तर, प्रश्न दलितसँग माफी माग्नुले संरचनात्मक समस्या कसरी समाधान हुन्छ ? मधेशका विभिन्न समस्यामध्ये जातिवादी प्रमुख समस्या हो । जातिवादले केवल जात मात्रै पाल्दैन उचनीचको भावना पनि पाल्छ । पवित्र अपवित्रको भावना पाल्छ । अलगावपनको विकास गर्छ । आफ्ना र परायाको विकास गर्छ ।

“ऐतिहासिक रुपमा प्रणालीगत विभेदको एउटा हिस्सा भएको महसुस गरेर माफी अभियान सञ्चालन गर्नु एक हदसम्म ठिकै होला । तर, प्रश्न दलितसँग माफी माग्नुले संरचनात्मक समस्या कसरी समाधान हुन्छ ?”

जातिवादी समाजमा सामाजिक एकता कमजोर हुन्छ । यी सबैको स्रोत भनेको हिन्दु शास्त्र हो । मनुस्मृति हो । वेद हो । उपनिषद हो । यी विभिन्न शास्त्रलाई संस्थागत गर्नमा प्रमुख रुपमा ब्राह्मणहरुको हात छ र अरु सबै जातजातिको पनि उतिक्कै भूमिका छ ।

यस अर्थमा माफी अभियान आदर्शवादी अभियान हो । आदर्शवादबाट समाज परिवर्तन हुँदैन । समाज परिवर्तनका लागि व्यावहारिक उपाय वा इन्जीनियरिङ्ग नै महत्वपूर्ण हुन्छ । जातिवाद जटिल होइन, गहिरो विषय हो । जातिवाद र लोकतन्त्र अन्तरविरोधी विषय हो । यी दुई एकसाथ सँगसँगै जान सक्दैनन् । जातजातिको खारेजी वा वर्णव्यवस्थाको खारेजी नै हिन्दु समाज मुक्तिको एकमात्र व्यावहारिक समाधान हो ।

जातिवादले ब्राहमणलाई पनि मानव बन्नबाट रोकिरहेको छ । क्षत्रीलाई पनि अमानुष बनाउनमा सहयोग गरिरहेको छ । वैश्यलाई पनि ब्राह्मण र क्षत्रीभन्दा तल्लो दर्जामा राख्न बाध्य छ । शुद्र त सम्पूर्ण रुपमा उत्पीडित नै छन् । जातिवादले कसैलाई हित गरेको छैन सबैलाई क्षति नै गरेको छ ।

“जातिवादले ब्राहमणलाई पनि मानव बन्नबाट रोकिरहेको छ । क्षत्रीलाई पनि अमानुष बनाउनमा सहयोग गरिरहेको छ ।”

यस परिवेशमा हिन्दु धर्मको रुपान्तरण वा सुधारको लागि माफी अभियानका अभियन्ता तयार हुनुपर्छ । समाजमा पुरोहित पनि चाहिन्छ तर त्यो पुरोहित जन्मको आधारमा निर्धारण हुनु हुदैन । जुनसुकै पनि जातको मान्छे शिक्षाको आधारमा पुरोहित बन्न पाउनुपर्छ । जन्मको आधारमा सामाजिक हैसियत निर्धारण हुनु हुँदैन । सामाजिक हैसियत व्यावहारिक समाजमा उसको योगदानको आधारमा निर्धारण हुनुपर्छ ।

जातको आधारमा श्रम विभाजन हुनु हुँदैन । श्रमलाई सम्मान गर्न र सो बमोजिमको स्थान निर्धारण गर्नुपर्छ । जातको आधारमा प्राप्त हुने सबै तत्कालीन लाभलाई अस्वीकार गर्नुपर्छ । यसको लागि माफी अभियानका अभियन्ता तयार हुनुपर्छ । अनि मात्र मानव जीवनको सार्थकता सिद्ध हुन्छ ।

तस्बिर : सप्तरीको डोम परिवारसँग माफी माग्दै अभियन्ता एव‌ं अध्येता तुलानारायण साह उनीहरुसँगै चिया खाँदै । 

साभार: इसमता

तपाईको प्रतिक्रिया