९ असार, रविन्द्र साह सप्तरी। राजविराजमा सम्पन्न दोश्रो मदन आश्रित राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज राजविराज स्थित राजदेवी क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुरलाई ४९ रनले पराजित गर्दै पुलिसले उपाधी जितेको हो ।
उपाधीसँगै पुलिसले ट्रफी सहित रु. १ लाख नगद समेत हात पारेको छ भने उपविजेता जनकपुरले रु. ५० हजारमा चित्त बुझाउन बाध्य भयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ७८ रन बनाएको थियो । पुलिसका लागि प्रेम तामाङले ३०, योगेन्द्र कार्कीले २९, दिपेन्द्र ऐरीले २६, सिद्धान्त लोहनीले २३ तथा कुशल भुर्तेलले अविजित २० रन योगदान दिएका थिए ।
यता बलिङतर्फ जनकपुरका महबुब आलमले ३ विकेट लिएका थिए भने कप्तान राज मोहम्मद र संजोक कर्णले दुई दुई विकेट हात पारेका थिए । प्रतिउत्तरमा १ सय ७९ रनको लक्ष्य लिएर मैदानमा ओर्लेको जनकपुरले निर्धारित ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २९ रन मात्र बनाउन सफल भयो ।
जनकपुरका लागि सौरभ नागबंशीले अविजित ३५, गोपाल सिंहले अविजित २९ तथा इशान पाण्डेले २१ र अभिषेक झाले १९ रन बनाएका थिए । स्टार ब्याट्सम्यान महबुब आलमले ६ रनमै आउन भएका थिए । यता पुलिसका रामनरेश गिरीले ३ विकेट हात पारे भने दिपेन्द्र ऐरीले २ भने कुशल भुर्तेल र मन्जित श्रेष्ठले एक एक विकेट हात पारे ।
सो खेलको म्यान अफ द म्याच नेपाल पुलिस क्लबका दिपेन्द्र ऐरी घोषित भए । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी होराइजन क्रिकेट एकेडेमी बिराटनगरका पुष्प थापा, उत्कृष्ट ब्याट्सम्यान नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर जनकपुर टिमका राज मोहम्मद घोषित भए ।
बिजेता तथा उपबिजेता टिमका खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सुमन राज प्याकुरेल, जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले ट्रफि, प्रमाणपत्र तथा नगद प्रदान गर्नु भयो । युवा संघ नेपाल नगर कमिटि राजविराजद्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलिको सहभागी थियो ।