१० असार, रविन्द्र साह ।सप्तरी सदरमुकाम राजविराज नगरपालिका ९ का बासिन्दाहरु वर्षाको पानी घरमा छिरेको भन्दै चक्काजाम गरेका छन् ।आज बिहानैदेखी उनीहरु राजविराज हनुमाननगर भारदह सडकखण्ड अबरुद्ध पारेपछि सो सडक भएर आवत जावत गर्ने कठिनाई भएको छ ।लगातार एक हप्तादेखी अत्यधिक वर्षापछि राजविराज ९ तेतरीगाछी चोकदेखि दक्षिणतर्फको बस्ती जलमग्न छ । घर भित्र पानी पसेपछि स्थानीयले खाना पकाउन समस्या भएको छ ।
व्यारेक टोल विकास संस्थाका अध्यक्ष भुपेश भुपका अनुसार सो क्षेत्रमा वर्षाको पानी निकास तथा ढल र नालाको व्यवस्था नहुँदा सामान्य वर्षामा समेत उक्त क्षेत्रका घरहरु डुबानमा पर्नजान्छ । यता नगरपालिकाले पानी निकासको उचित व्यवस्था नगरेको स्थानीयको गुनासो छ । यसैबीच खाडो खोलामा आएको बाढीले निर्माणाधीन पुल बगाएपछि बुधबारदेखी सदरमुकाम राजविराज कुनौली सडक ठप्प भएको छ ।
सो सडक खण्ड अवरुद्ध भएकै कारणले त्यस भेगका बरही बिरपुर ,बिषहरिया ,लौनिया ,तिलाठी ,सकरपुरा ,रम्पुरा मल्हनिया सहितका गाविसका स्थानीयबासीहरु आवत जावतमा निकै समस्या खेप्नुपरीरहेको स्थानीयबासीहरुले बताएका छन ।
त्यस्तै पूर्वी पहाडी जिल्लामा लगातार परेको वर्षाले त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिकाको अधिकांश घर डुबानमा परेका छन् ।नदीमा आएको बाढीबाट सप्तकोसी नगरपालिकाको वडा नं १, २, ३, ४ र ५ सहित अन्य वडामा पानी पसेर घरहरू डुबानमा परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अहिले सो वडाका मानिसको घरमा पानी पसेपछि पक्का घर भएकाहरूको छतमा र फुसको घर भएकाहरूले बाँधमा बस्न बाध्य भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।साथै उक्त ठाउँको सडकमा पानी पानी भएपछि केही यातायातका साधन अवरुद्ध भएको बताइएको छ । यस्तै सप्तरी र सिरहाको बीचमा पर्ने बलान खेलमा आएको बाढीले त्यस आसपासका दर्जन घर डुबानमा परेका छन् ।यता अत्यधिक वर्षा भएर सप्तरीको सदरमुकाम राजविराजको घरघरमा पानी पसेको भन्दै वडा नं ९ का स्थानीय बासिन्दाले राजविराज–भारदह सडकखण्ड आज बिहान केही घन्टा अवरुद्ध गरेका छन् ।
राजविराजको तेतरीगाछी चोकमा भेला भएका स्थानीय बासिन्दाले बाटो अवरुद्ध गरेपछि सदरमुकामबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन अवरुद्ध भएका थिए ।त्यसैगरी लगातारको बर्षाका कारणले जुडी नदीमा आएको बाढीले कविलासा गाविस वडा न. ५ का करिब एक दर्जन घर डुबानमा परेको स्थानीय युवा नेता जीवन कुमार यादवले जानकारी दिनुभयो । त्यस्तै सो नदीमा आएको बाढीका कारणले त्यहाँका स्थानीयबासीहरुलाई दिनहुँ उक्त सडक खण्ड भएर आवत जावतमा निकै समस्या खेप्नुपरीरहेको स्थानीयबासीहरुको कथन रहेको छ ।
तस्बिर : सामाजिक सञ्जालबाट