जुम्ला, १४ कात्तिक / इन्धन अभाव भएपछि एम्बुलेन्स सेवा ठप्प भएको छ । एम्बुलेन्स सेवा बन्द भएपछि यतिबेला उपचार सेवा लिने बिरामी मर्कामा परेका छन् । नाकाबन्दीले एम्बुलेन्स सेवा बन्द भएपछि जिल्लाका दुर्गम गाविस मालिकावोतालगायत सिंजा क्षेत्रका ११ गाविस, चौधबीस भेकका चार र पाँच सय भेकका नौ गाविस प्रभावित भएका छन् ।

यतिबेला एम्बुलेन्सका नाममा रेडक्रस जुम्लाका दुई एम्बुलेन्स मात्र सञ्चालनमा छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको एम्बुलेन्स झन्डै तीन महिनादेखि बिग्रेको प्रतिष्ठानका प्रशासकीय अधिकृत द्वन्द्व शाहीले जानकारी दिनुभयो ।

भएका दुवै एम्बुलेन्स पनि डिजेल अभावका कारण थन्किएका छन् । बिरामी लिन गएको एउटा एम्बुलेन्स मालिकावोता गाविसमा एक सातादेखि उतै थन्किएको जिल्ला संयोजक हरिगोपाल चौलागाईंले जानकारी दिनुभयो । अर्को भने शाखा कार्यालयमा नै खिया लाग्ने गरी थन्केको छ । सेवा बन्द भएपछि अहिले बिरामीलाई स्टे«चर र डोकामा बोकेर ल्याउने गरिएको छ ।

प्रजिअ दीपेन्द्रराज पौडेलले स्वास्थ्य सेवा तथा सरकारी सुरक्षाका लागि इन्धन उपलब्धताका लागि जुम्लास्थित दुई पेट्रोल पम्प र नेपालगन्ज क्षेत्रीय प्रशासन तथा नेपाल आयल निगमलाई पनि पत्राचार गरिएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया