robber-

सप्तरी, १६ कात्तिक ।सप्तरीमा मोटर साइकल चोरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालबाट गएको असोज २७ गते मोटर साइकल चोरेको आरोपमा राजविराजका देवेन्द्रकुमार साह, सागर यादव र बविसकुमार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई सार्वजनिक गर्न सोमबार गरिएको पत्रकार सम्मेलनमा चिमरियाले दिएको जानकारी अनुसार उनीहरुको साथबाट चोरी भएको मोटरसाइकल पनि बरामद गरिएको छ ।चोरी भएलगत्तै प्रहरीले खोजी गर्ने क्रममा बा ३ प ९०६५ नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई नम्बर प्लेट परिवर्तन गरी ज ४ प २३५५ नम्बर लेखेर मोटरसाइकलको लेग–गार्ड र भाइजरसमेत परिवर्तन गरी प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दियो । सप्तरीको बथनाहा–८ का २६ वर्षीय दशरथकुमार मण्डलको मोटर साइकल अस्पतालको पार्किङ क्षेत्रबाट चोरी भएको थियो ।

 

तपाईको प्रतिक्रिया