वीरगन्ज – मितेरी पुलमा पुगेको प्रहरीले आन्दोलनकारीलाई धपाएपछि सोमबार वीरगन्जबाट दुई सयभन्दा बढी भारतीय खाली गाडी रक्सौल पठाए पनि रक्सौलमा फसेका नेपालका मालबाहक गाडी भने वीरगन्ज छिर्न सकेनन् ।
पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठका अनुसार वीरगन्जमा ४० दिनदेखि अलपत्र परेका दुई सय १९ वटा भारतीय खाली ट्रक बिहान भारतीय प्रहरीको समन्वयमा रक्सौल पठाइए पनि रक्सौलमा रोकिएका नेपाली मालवाहक गाडी भारतीय पक्षले नेपालतर्फ नपाठाएको हो । भारतीय गाडी नेपाल प्रवेश गर्ने क्रम चलिरहँदा भारतीय प्रहरी र रक्सौल कस्टमका अधिकारीले रक्सौलमा रोकिएका नेपालका मालवाहक गाडी पनि नेपाल पठाइदिने बताएका थिए । भारतीय ट्रक उता पठाउनुअघि मितेरी पुलमा खटिएका रक्सौल कस्टमका सुपरिटेन्डेन्ट अरुणकुमार रजतले भनेका थिए ,‘नेपालमा अड्किएका भारतीय सबै गाडी रक्सौल छिरेपछि हामीले पनि रक्सौलमा रहेका नेपालका मालबाहक गाडी नेपाल पठाइदिन्छौं ।’ तर, वीरगन्जमा रोकिएको भारतीय गाडी सबै रक्सौल छिरेपछि भातरीय प्रहरी र रक्सौल कस्टमका अधिकारी मितेरी पुलबाट अचानक गायब भएका थिए, अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।