Dudh milk rajbiraj saptari
१२ भदौ, दिलिप साह सप्तरी। घुम्टो भित्र घरमा गुम्सिएर बस्ने ग्रामिण महिलाहरु गाईभैसीको दूध बेचेर राम्रो आम्दानी गर्न थालेका छन ।श्रीमानको भरमा मात्र जीवनयापन गर्दै आएका ती महिलाहरु आत्मनिर्भर बन्नका लागि दूध व्यापार थालेका हुन ।

सप्तरी जिल्लाको राजविराज नगर क्षेत्र आसपासका गाउँबस्तीका यी महिलाहरु सधै यसरी नै दूध बेच्न आउने गरेका छन । नीजि लगानीमा एक-दुई वटा दुधालु गाई-भैसी पालेर दूध व्यवसायी गर्न थालिएकोले आर्थिक निर्भर हुन थालेको छन । एउटा भैसीको रु. ५० हजारदेखि रु. एक लाख सम्म मूल्य पर्ने गरेको जानकारी दिदै जिल्लाको फर्सैठ गाविस–२ निवासी बेचनी देवीले “बिहान र बेलुका दुबै छाक गरी एउटा भैसीले १० लिटर दूध दिन्छ, एक छाकको दूध परिवारका सदस्यहरुले खान्छन भने बिहानको दूध बेच्छु” भन्नुभयो ।

राजविराज नगरमा प्रत्येक बिहान ५-६ बजेदेखि ९-१० बजेसम्म मात्र दूधको हटिया लाग्ने गरेको हुँदा ती महिलाहरु एका बिहानै दूध लिएर बजार आइपुग्छन । नगरको एक मात्र गुद्री हटियाको पूर्वपट्टि एका बिहानै बाल्टिन, कमण्डल, बोतलमा राखेर दूध बेच्न आउने सयौंको संख्याका ती महिलाहरु दूध बेचेर दैनिक गर्जो टार्ने गरेको दूध बेच्न आएकी कारो देवीले बताइन ।

गाई पालेकोले गाईको र भैसी पालेकोले भैसीको दूध लिएर बेच्न आउने गरेको भन्दै उहाँले भन्नुभयो “दुई वर्ष अघि ऋण काढेर रु.८० हजारमा एउटा भैसी किने, दूध बेचेर ऋण तिरिसकेको छु, अब दूधको आम्दानीले भैसीको खर्चसँगै घरपरिवार चलाई राखेको छु ।”

प्रति लिटर रु. ७० देखि ८० मा बिक्री भइरहेको दूधको मूल्य निर्धारण गर्ने निकाय अहिलेसम्म देखिएको छैन । कृषक महिलाहरुले नै आफुखसी दूधको माग अनुसार मूल्य बढाउने र घटाउने गरेका छन । कतिपयले ग्राहकसँग मूल्य निश्चित गरेका छन, ग्राहककै घरमा दूध पुर्याउने गरेका छन ।

यस्ता दूध व्यापारीले ग्राहकलाई कुरेर दूध बेच्नु पर्दैन । निश्चित वा हटियामा बसेर बेच्ने दूधको मूल्यमा खासै अन्तर हुदैन तर, हटियामा थोरै बहुत मूल्य घटबढ भइरहन्छ । दैनिक रुपमा दूध व्यापार गरी आत्मनिर्भर बन्दै गएका यी महिलाहरु घरको सामान्य खर्चका लागि श्रीमानलाई कुर्नु पर्ने अवस्थाबाट मुक्त मात्र नभई रकम जोडेर जीवनशैली, बालबच्चाको पढाईलेखाईमा समेत परिवर्तन तर्फ उन्मुख भइरहेको उनीहरु बताउँछन ।

एउटा दुधालु भैसीबाट वार्षिक रु. एक लाख भन्दा बढी आम्दानी हुने गरेको भन्दै महिला दूध व्यापारी कारोदवीले भैसी पालन गर्दा गोबरबाट बनाइने गुँइठाले दाउराको बचत, खेताबारीमा गोबर मलले उत्पादन बढी हुने, दूधको नियमित खानाले शरीर स्वस्थ्य रहने समेत फाइदा भइरहेको हुँदा यसकोपनि हिसाब गर्ने हो भने लाखौ रुपियाँ आम्दानी भइरहेको तर्क गर्नुहुन्छ ।

राजविराज नगर आसपास दिघवा, रायपुर, फर्सैठ, बभनगामाकट्टी, बरहीविरपुर, इटहरी विष्णुपुर, बोरिया, जमुनी मधेपुरा, मलेकपुर, मलेठ, बसबिट्टि, लगायत एक दर्जन भन्दा बढी गाविसका महिला कृषकहरु नगरमा दूध बेचेर आयआर्जन गरिरहेका छन ।

जर्सी गाई र अर्ना जात जस्ता विकासीय भैसीको भन्दा लोकल (स्थानीय) गाई‍-भैसीको दूध स्वादिलो, ताकतवर एवं फाइदाजनक रहेको आम बुझाइ छ । करिब पाँच दशक भन्दा बढी समयदेखि नगरमा यसरी दूध हटिया लाग्ने गरेको जानकारी दिदै राजविराज नगरका पूर्व मेयर जगरनाथ दासले सुरुमा पुरुषहरु मात्र दूध बेच्न आउने गरेमा अहिले पुरुष भन्दा महिला कृषक बढी सक्रिय भएको अनुभव सुनाउनुभयो ।

 

तपाईको प्रतिक्रिया